पोखरा- १९ वर्षकी थिइन्, विष्णुमाया ढकाल (राई)। एसएलसी दिएर उनी जर्मनी जाने ध्याउन्नमा लागेकी थिइन्। त्यसका लागि कागजपत्र मिलाउनुपर्ने थियो। अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन। पूरै लेकसाइडभरि २ वटा थियो, फ्याक्स गर्ने ठाउँ। त्यसका लागि कुर्नुपर्थ्यो।
२५ वर्षअघिको कुरा हो। लेकसाइड त्यतिबेला पनि पर्यटकीय गन्तव्यको रुपमा परिचित भइसकेको थियो। विष्णुमायाको परिवार होटल व्यवसायी थिए। सम्पन्न परिवारकी सदस्य। कहिलै कुनै कुराको चिन्ता लिनुपरेन। न भातभान्सा नै गर्नुपर्यो।
जर्मनीकी एक महिलासँग मायाको मित्रता बढ्यो। मिल्ने साथी बने, साथीले उतै (जर्मन) बोलाइन्। त्यसैको कागजपत्र फ्याक्सबाट पठाउने र पाउने गर्न फ्याक्स स्टुडियोमा धाइरहन्थिन्। यो क्रम निकै लामो समय चल्यो।
एकदिन फ्याक्स अफिसमा नयाँ अनुहार आयो। गाइँगुइँ हल्ला सुनिन्, ‘पूर्वको राई केटा हो। निहुँ नखोज्नू। पैले काट्छ अनि मात्रै ऐले काट्छु भन्छ।’ उनलाई हल्लाले छोएन।
उनी थिए, चिम्सा आँखा र ठूलो जिउ भएका रामकुमार राई। तर विष्णुमायाको उनीसँग कुनै लेनदेन थिएन। उतिसारो वास्ता पनि गरिनन्। रामकुमार काठमाडौंबाट पोखरा आएका रहेछन्।

‘प्राय भेट हुन थाल्यो फ्याक्स अफिसमा। गफगाफ बढ्न थाल्यो। दाइबहिनीको साइनो प्रयोग गर्यौं। देख्यो कि कफी खाऊँ भन्नुहुन्थ्यो,’ उनले २५ वर्षअघिको कुरा खोतल्दै भनिन्, ‘मैले दाइकै रुपमा गफ गरिरहेकी थिएँ। मनमा प्रेम भन्ने थाहा नै थिएन।’
विष्णुमायाको भिसा लाग्यो। उनी जर्मनी उडिन्। जानेबेला फ्याक्स अफिसअघिबाटै बस चढिन्। रुँदै सबै परिवारसँग बिदा मागिन्।
त्यही भिडमा उभिएका थिए, राम। उनलाई कसोकसो अलि विशेष तरिकाले भनिछन्, ‘दाइ, बस्नु है। म छिट्टै आउँछु।’ बस काठमाडौं पुग्यो र एउटा होटलमा गएर रोकियो।
विष्णुमाया आमासँग काठमाडौं गएकी थिइन्। बा नेपाली सेनामा भएकाले छोरी पठाउन भ्याएनन्। साँझको खाना खाएर सुत्नै लाग्दा होटेलको एकजना कर्मचारीले मायालाई खबर पुर्याए, ‘दिदी, तपाईंलाई भेट्न एक जना दाइ आएका छन्।’
उनी झसंग भइन् ‘आखिर को रहेछ, काठमाडौंमा मलाई भेट्न आउने?’
रिसेप्सनमा आएर हेर्दा ढकाल झन् झस्किइन्। त्यहाँ हिजै बिदा गरेर आएका राम बसिरहेका थिए। के गरौं र कसो गरौंका स्थितिमा पुगेर उनीसँग एक बोतल चिसो खाएर कोठा फर्किइन्। उनलाई ठूलो डर थियो, ‘आमाले थाहा पाइन् भने मार्छिन्।’
विष्णुमाया जर्मन उडिन्। राई पोखरा फर्किए।
विदेशमा उनी बंगुर फार्ममा काम गर्न थालिन्। ‘त्यहाँ रहँदा उनले पठाएको चिठी फ्याक्समा म बस्ने भएकाले सुरुमै पाउँथेँ,’ श्रीमतीको छेउमै बसिरहेका रामले लजाउँदै भने, ‘पहिले म पढ्थेँ अनि मात्रै घरमा लगेर दिन्थेँ।’
जर्मनमा लगभग तीन महिना काम गरिन् विष्णुमायाले। भिसा सकिएपछि रि-अप्लाई गर्न उनी नेपाल फर्किइन्।
राति मात्रै काठमाडौंबाट पोखरा आइपुगिन्, उनी। ‘राति त्यस्तै भयो। बिहान उठ्दा फेरि उहाँ घरमै आउनुभएको रहेछ। म फेरि के गरौं गरौंमा पुगेँ,’ उनी सम्झिन्छिन्।
जे होस्, बिहानै राम घरमै आएकोमा भने उनी खुसी नै थिइन्।
०००
विष्णुमायालाई मन पराउन थालेको रामलाई थाहा भइसकेको थियो। उनी प्रस्ताव राख्न राम्रो समयको पर्खाइमा थिए। भिसा सकिएर नेपाल आएकी उनी पुन: जर्मनी फर्किन कागजपत्र मिलाउँदै थिइन्। जर्मनबाट आउने प्रत्युत्तर पर्खाइमा थिइन्।
एकदिन विष्णुमायाले अप्लाई गरेको कागजपत्रको प्रत्युत्तर आउने दिन थियो। त्यही दिन रामले प्रेम प्रस्ताव राख्नेबारे सोचे। बिहान हतार गर्दै फ्याक्स अफिस जाँदा राम बसिरहेका रहेछन्।
‘बैनी तपाईंको फ्याक्स आएको छ,’ रामले हातको कागज थमाउँदै भनेछन्। उनले चिठी हातमा लिइन्, एकछिन हेरिन्। केही बोलिनन्। चिठी बोकेर साइकल कुदाउँदै घर फर्किइन्।
‘उहाँले त लभ लेटर पो दिनुभएको रहेछ। पहिलो पटक त्यसरी पाउँदा म त खुब डराएकी थिएँ,’ उनले प्रेमको सुरुआती दिन सम्झिइन्।
सुरुमा मायाले प्रस्ताव अस्विकार गरिन्। तर पछि लाग्न छोडेनन्, राम। 'हत्तु भइपछि ‘ओके’ भनिदिएँ। जर्मन जाने लक्ष्य पनि त्यागिदिएँ,' उनले हाँस्दै सुनाइन्।

जब उनले स्विकार गरिन्, त्यहीँबाट उनीहरुको प्रेमले नयाँ मोड लिन थाल्यो। अन्तरजातको जञ्जालमा उनीहरु फस्न थाले।
‘सधैं सँगै घुम्न थालेपछि गाइँगुइँ हल्ला चल्यो, एकदिन आमाले पनि थाहा पाउनुभयो। त्यसदिन रातभरि झगडा गरेका थियौं,’ मायाले सुनाइन्, ‘अर्को दिन बिहानै म र राम सल्लाह गरेर भाग्यौं।’
भाग्नुभन्दा दुई-तीन दिन अघिमात्रै मायाले नयाँ कुरा थाहा पाएकी थिइन्। विवाहित रामकी छोरी पनि रहिछन्। तर ढिलो भइसकेको थियो। उनलाई रामसँगै जीवन गुजार्नु थियो। भनिदिइन्, ‘उसलाई पनि आफ्नै छोरी मान्न तयार छु।’
०००
विवाह भएपनि केटी पक्षले स्वीकार गर्ने कुरा थिएन त्यो समयमा। भागेर पनि उनीहरु लेकसाइडमै बस्ने आँट गरे। राम पहिलेकै अफिसमा थिए। आर्थिक अभावले चिथोर्न थालेपछि मायाले पनि एउटा रेस्टुरेन्टमा रिसेप्सनको काम गर्न थालिन्। ‘खाली समयमा कुक दाइसँग मिलेर खाना पकाउने कला पनि सिकेँ,’ माया सगर्व सुनाउँछिन्।
कामका लागि कसैसँग ऋण माग्दा पनि दिएनन्। ‘काम परेरै १० हजार मात्रै माग्दा पनि दिन्छु भनेर मात्रै टारिरहे। हामीलाई कसैले पत्याउन सक्ने स्थिति नै थिएन,’ राम भन्छन्। विष्णुमायाले विश्वास गरेकै आफन्तबाट ‘तलाईं कुन आधारमा पैसा दिने?’ जस्ता कठोर वचनको सामना पनि गरिन्।
एकदिन विष्णुमाया काम विशेषले माइती घरको बाटो हिँड्दै थिइन्। बाबुले फेला पारे। ढुंगैढुंगाले हिर्काउन थाले। अग्लो हिल लगाएकी थिइन्। भाग्दै गर्दा चोट लाग्यो। ‘तल्लो जातसँग बिहे गरेर कुलको इज्जत फालिस् भन्दै हान्न थाल्नुभयो। भाग्दा चप्पल पनि चुँडियो। खुट्टामा चोट पनि लाग्यो,’ केही दु:खी हुँदै उनले सुनाइन्।
पछि उनले जागिर छोडिन्। जर्मनीबाट फर्किंदा ल्याएको केही रकम थियो। त्यसैले लेकसाइड छेउको एउटा पुरानो घर भाडामा लिइन्। होटल चलाउन थालिन्। सामान्य मम: चाउमिन पकाउन पहिले कुक दाइसँग अलिअलि सिकेकी थिइन्। राम भने पहिलेकै अफिसमा जागिरे थिए। व्यापारले बिस्तारै गति लिएपछि दुवै मिलेर काम गर्न थाले। जीवनस्तर उकासिँदै जान थाल्यो।
०००
दु:खसुख गरेर १३ वर्ष बित्यो। लेकसाइडमा व्यापार गरेकैले आर्थिक स्थितिमा छलाङ मार्यो यो जोडीले। तर परिवारले स्वीकार गरेन्। विष्णुका भाइ विदेशमा पढाइ सकेर नेपाल आए। पहिले बाबुलाई सम्झाउने कोसिसमा लागे। तर बाबुले मानेनन्।
कान्छा भाइ जंगिए, ‘कि दिदीलाई स्वीकार गर्नुस् कि हामी तपाईंलाई अस्विकार गर्छौं।’
बाबुले सर्त माने।
त्यसपछि १३ वर्षपछि उनले जन्मघरको दैलो टेक्ने मौका पाइन्। आमा भने बेलाबेलामा छोरीको घर आइरन्थिन्। अन्तर्जातीय बिहेकै कारण १३ वर्ष टाढा भएकी विष्णु भन्छिन्, ‘अहिले त सबैभन्दा प्यारी छोरी भएकी छु। केही परे मलाई भन्नुहुन्छ। ठिक निर्णय लिएकी रहेछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।