रसुवा– रसुवाका १ सय ८२ जना गुठीपीडित किसानले आफ्नै नाममा जग्गाधनी पुर्जा पाएका छन्। लामो समयदेखि काठमाडौं स्वयम्भु घ्याङ गुठीको नाममा रहेको जग्गा पहल थालेको ३३ वर्षपछि हात पारेका हुन्।
_x000D_
_x000D_
जिल्ला भूमि अधिकार मञ्च, रसुवा लगायत जिल्लाका सरोकारवालाको पहलमा करिब ५ सयमध्ये एक सय ८२ जना गुठी प्रभावितले आफ्नै नाममा जग्गाधनी पुर्जा पाएको मञ्चका विश्वास नेपालीले बताए। उनले भने, ‘जिल्ला भूमि अधिकार मञ्चको पहलमा १ सय ३२ जना र हाइड्रोपावर निर्माणका लागि मुआब्जा वितरण गर्ने समयमा ५० जनाले जग्गाधनी पुर्जा पाएका छन्।’
_x000D_
_x000D_
वर्षौंदेखि उपभोग गर्दै आएको गुठीको नाममा रहेको जग्गा आफ्नो नाम बनाएसँगै किसानहरूमा खुसी छाएको छ। जग्गा आफ्नो नाममा ल्याउनका लागि पीडितहरूले मञ्चमा सङ्गठित भई विगत १२ वर्षदेखि आन्दोलन गरेको नेपालीले बताए।
_x000D_
_x000D_
काठमाडौंको सडक र रसुवाको सडकमा नारा मात्र गुन्जिएपनि तत्काल उपलब्धि भने देखिएको थिएन। लामो समयको सङ्घर्षपश्चात् गुठीपीडित हाकुबासीले जीवनमा पहिलो पटक रातो पुर्जा हात पारेका हुन्। जग्गाधनी पुर्जा पाएपछि हाकुका सोमबहादुर तामाङले भने, ‘हामीले पहिलो पटक हातमा पुर्जा पाउँदा जीवनमा धेरै कुरा पाएझैं भएको छ, कति पुस्ता बितिगए, तर कसैले पुर्जा देख्न पाएका थिएनन्। हामी यसबाट ज्यादै खुसी छौं।’
_x000D_
_x000D_
सोमबहादुर मात्र होइन्, जग्गाधनी पुर्जा पाएपछि आमाछोदिङ्मो गाउँपालिका–१ का ७७ वर्षीय उर्लामा तामाङले भने, ‘वर्षौंदेखि हामीले जोतभोग गर्दै आएको जग्गाको पुर्जा नपाई मरिन्छ कि भन्ने लागेको थियो, लालपुर्जा पाइयो, खुसी छौं। हामीले त दुःख पायौं–पायौं, अब सन्ततिले दुःख नपाउन् भन्ने चाहाना थियो त्यो पुरा भयो।’
_x000D_
_x000D_
त्यस्तै आमाछोदिङ्मो गाउँपालिका–२ का निमादर्के तामाङले पुर्जा पाएपछि विभिन्न कारोबार गर्न सहज हुने प्रतिक्रिया दिए। भने, ‘पहिला पैसा नहुदाँ धेरै समस्या थियो, यही भएको जग्गा बेचेरै भएपनि समस्याको समाधान गरौं भन्ने लाग्थ्यो, अब सहजै रुपमा कारोबार गर्न पनि पाउने भयौं।’
_x000D_
_x000D_
आफूले भोगचलन गरे पनि गुठी पीडितले २०३६ सालदेखि जग्गाको तिरो तिरेका छैनन्। २०३५ सालसम्म गुठीबाट तिरो उठाउन आउने गरेको र त्यसपछि तिरो उठाउन आउन छाडेकाले तिरो नतिरेका हुन्। गुठी पीडितलाई लालपूर्जा दिलाउनका लागि जिल्ला भूमि अधिकार मञ्च रसुवा लगायतले गुठी संस्थानमा गएर पटक–पटक छलफल पछि जग्गाधनी पूर्जा दिने निर्णय भएको थियो।
_x000D_
_x000D_
लालपूर्जा दिने तर २०३६ सालदेखिको तिरो तिर्नुपर्ने संस्थानले बताएपछि स्थानीयले तिरो तिर्न नसक्ने भन्दै ५ हजार रुपैयाँ रकम मात्र तिर्नेगरी निर्णय भएको थियो। यो निर्णयसँगै किसानहरू धेरै खुसी भएका थिए। उनीहरूले उपभोग गर्दै आएको एक हजार ८९ कित्ता अर्थात ५ हजार ११ रोपनी जग्गा काठमाडौ स्वयम्भु घ्याङ गुठीको नाममा रहेको थियो।
_x000D_
_x000D_
जिल्लाको आमाछोदिङ्मो गाउँपालिका १ र २ मा गरी करिब ५ सय गुठीबाट प्रभावित थिए। जग्गाधनी पुर्जा पाएका सबै भूकम्पपीडितले सरकारी अनुदान लिँदै धमाधम घरसमेत निर्माण गरिरहेका छन्। बाँकीको पुराना कागजातहरु नभएको हुदाँ आवश्यक प्रमाणहरु जुटाएर पुर्जा बनाउने प्रक्रिया अघि बढेको मञ्चले जनाएको छ।
_x000D_
_x000D_
रसुवा जिल्लामा भूमिअधिकार अभियानलाई लामो समयदेखि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र नेपाल कृषिवन प्रतिष्ठानले सहयोग गर्दै आइरहेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।