पोखरा– पोखराको भौगोलिक अध्ययन र भू—उपयोग नीति बनाएर मात्र भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन्।
_x000D_
_x000D_
विज्ञ समूह गठन गरी पोखरा महानगरपालिकाले तयार गरेको भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्डबारे सुझाव लिन कास्कीमा क्रियाशील राजनीतिक दल तथा अन्य सरोकारवालासँग बिहीबार छलफल गरिएको थियो। छलफलमा नेताहरुले मापदण्ड संवेदनशील विषय भएको र यसले दीर्घकालीन असर पार्ने भएकाले पोखराको जग्गाको उपयोग नीति बनाएपछि मात्र मापदण्ड बनाउन सुझाव दिएका हुन्।
_x000D_
_x000D_
‘कस्तो पोखरा बनाउने हो, दीर्घकालीन सोच राखेर महानगरले मापदण्ड निर्धारण गर्नुपर्छ,’ सरोकारवालाहरुको सुझाव छ। सार्वजनिक जग्गाको संरक्षण गर्दै दीर्घकाललाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्माणको मापदण्ड बनाउन पनि उनीहरुले सुझाएका छन्।
_x000D_
_x000D_
पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले पोखराको भू–बनोटको अध्ययन गरेर भार क्षमता कति छ, त्यसलाई हेरेर भवन तथा पूर्वाधार निर्माण गर्नुपर्ने बताए। ‘अग्ला भवन समयको माग भएकाले जमिनको भार क्षमता अध्ययन गरेर ठाउँ अनुसार कति तलासम्म बनाउन मिल्ने हो, त्यसका अधारमा भवन निर्माणको मापदण्ड तोक्नुपर्छ,’ उनले भने।
_x000D_
_x000D_
उनले पोखरामा पार्किङको समस्या रहेकाले अब बन्ने घरमा अनिवार्य पार्किङको व्यवस्था गनुपर्ने सुझाए। ‘पृथ्वी राजमार्गकै मापदण्ड र साविक लेखनाथ र पोखरामा फरक भएकाले त्यसलाई एउटै कायम गर्नुपर्छ,’ उनले भने। लामिछानेले फिर्के खोला र बुलौदी खोलाको मापदण्ड कम्तिमा पनि ८ मिटर बनाउन महानगरलाई सुझाव दिए। फेवातालको चारौतिर ६५ मिटर मापदण्ड बनाउनै पर्ने उनको माग छ।
_x000D_
_x000D_
नेपाली कांग्रेस पोखरा नगर सभापति बजीरमान श्रेष्ठले सहरलाई व्यवस्थित र पोखराको सुन्दरतालाई जोगाउने गरी मापदण्ड बनाउनु पर्ने मत राखे। उनले भने, ‘जग्गा उपयोग नीति बनाएर कुन जग्गा केका लागि प्रयोग गर्ने हो, त्यस अनुसार मापदण्ड बनाउनु पर्छ।’ पोखरामा पर्यटक अग्ला घर हेर्न नअनाउने हुनाले लेकसाइड क्षेत्रमा अग्ला घर बनाउनु नहुने उनको तर्क छ। श्रेष्ठले मापदण्डबारे नेपाली कांग्रेसको लिखित सुझाव नै मेयर मानबहादुर जिसीलाई बुझाएका थिए।
_x000D_
_x000D_
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञ समूहले तयार पारेको मापदण्डबारे सरोकारवालासँग रायसुझाव लिएर नै त्यसलाई कार्यान्वयन तहमा लैजानका लागि दलहरुसँग छलफल गरिएको बताए। ‘अपनत्व सबैले लिनुपर्छ,’ जिसीले भने, ‘सबैको सुझावलाई समेटेर मापदण्डलाई महानगरले कार्यान्वयनमा लैजान्छ।’
_x000D_
_x000D_
महानगरपालिकाले प्राध्यापक डा भरतराज पहारीको संयोजकत्वमा गठन गरेको मापदण्ड निर्धारण सुझाव समितिले ‘भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड, २०७५’ तयार पारेको हो । पोखराको भौगोलिक अवस्थालाई ध्यानमा राखेर वैज्ञानिक ढंगबाट नै मापदण्ड तयार पारिएको सुझाव समितिका सदस्य सचिव तथा महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्ले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।