सुर्खेतः कर्णाली प्रदेश सरकारले दुई वटा आयोग गठनको प्रक्रिया आरम्भ गरेको छ। कानुन आयोग र योजना आयोग गठनका लागि प्रदेश सरकारले प्रक्रिया सुरु गरेको हो।
_x000D_
_x000D_
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश कानुन आयोग गठन सम्बन्धी आदेश २०७५ स्वीकृत गरेको छ। यो सँगै अब कानुन आयोग गठनको औपचारिक प्रक्रिया सुरु भएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।
_x000D_
_x000D_
केसीका अनुसार ७ सदस्यीय कानुन आयोग गठन गरिएको छ। जसमा अध्यक्षसहित सरकारले नियुक्त गर्ने सदस्य २ जना, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव, मुख्यन्यायाधिवक्ता पदेन सदस्य रहनेछन्। त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख उक्त आयोगको सदस्य सचिव रहने व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
त्यसैगरी, सोमबारकै बैठकले कर्णाली प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ पनि स्वीकृत गरेको छ। प्रवक्ता केसीका अनुसार योजना आयोग ६ सदस्यीय हुनेछ। प्रदेश सरकारका मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा सरकारले एक जना उपाध्यक्ष र दुई जना सदस्य नियुक्त गर्नेछ भने प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
बैठकले सात सदस्यीय अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५ स्वीकृत गर्ने, कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ‘कर्णाली पर्यटन वर्ष २०७५’ अन्तर्गत से–फोक्सुण्डोमा मंसिर ११ र १२ गते हुने महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई निमन्त्रणा गर्ने निर्णय गरेको पनि प्रवक्ता केसीले जानकारी दिइन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।