लमजुङ– भुजुङ त्यसै पनि पर्यटकीय गाउँ हो। गुरुङ संस्कृतिको यो बस्ती सुन्दर छ। लहरै मिलेका घर छन्। बाटोघाटो सिनित्त परेका सफा छन्। स्थानीयहरु फरासिला छन्।
_x000D_
_x000D_
यहाँको रैथाने रङमा सामूहिक चिया खेतीको खुशी पनि थपिएको छ।
_x000D_
_x000D_
‘भुजुङको चिया अहिले अमेरिका, बेलायत, हङकङ, बु्रनाइसम्म पुगेको छ’ घरबास सञ्चालक जुनी गुरुङको अनुहार खुशी देखियो, ‘विदेशका आफन्तलाई पनि कोशेलीका रुपमा भुजुङको चिया जान्छ।’
_x000D_
_x000D_
लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ। यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको भुजुङवासीको भनाइ छ।
_x000D_
_x000D_
डेढ दशकअघि १० रोपनी जग्गामा सामूहिक चियाखेती शुरु गरिएको भुजुङमा अहिले गाउँ वरपर व्यक्तिगत र व्यावसायिकरुपमा चियाखेती हुन थोलेको छ। उन्युको झाडीमा समेत भुजुङका बासिन्दाले चियाखेती गरेका छन्। चियाखेती भुजुङ आउने पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ।
_x000D_
_x000D_
शुरुमा परीक्षणका लागि रोपिएका चिया अहिले विदेशबाट समेत माग हुन थालेपछि स्थानीय मख्ख परेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
भुजुङगाउँ हाल क्वाहोलासोंथर गाउँपालिका–४ मा पर्छ। साविकको भुजुङ गाउँका प्रत्येक वडाका स्थानीयले सामूहिकरूपमा चियाखेती गरेका हुन्। पहिले एक गाउँ एक गाविसका रूपमा चिनिएको भुजुङ गाउँमा घरबाससँगै चियाखेती पनि विस्तार भएपछि पर्यटक थप आकर्षित भएका छन्।
_x000D_
_x000D_
डेढ दशक अघि १० रोपनीबाट सुरु भएको चियाखेती अहिले २५० रोपनीसम्म फैलिएको छ। वडा सदस्य पित्रमान गुरुङका अनुसार ११ रोपनी क्षेत्रफल जग्गामा आठ हजार बिरुवा यसै वर्ष रोपिएको छ। ‘वर्षपिच्छे बढाउँदै लैजाने योजना छ’ उनले भने, ‘चियाखेतीमा सिङ्गो भुजुङ गाउँका करीब ४०० घरपरिवार लागेका छन्। सबै खुशी छन्।’
_x000D_
_x000D_
यहाँ सामुदायिक रूपमा चियाखेती गरिँदै आएकोमा विस्तारै व्यक्तिगत रूपमा पनि १५ रोपनीभन्दा बढी क्षेत्रफल जग्गामा चियाखेती गरिएको छ।
_x000D_
_x000D_
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँलेले चियाखेती थालेका हुन्। एक्यापको सहयोगमा चियाका बिरुवा निःशुल्क उपलब्ध गराएको छ। हरेक वर्षको चियाखेतीमा एक्यापले सहयोग गर्दै आएको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताए। शुरुमा तीन वर्षको परीक्षण सफल भएपछि भुजुङवासीले २०५९ देखि थप चियाखेती विस्तार गरेका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
गुप्ताले जानकारी दिए, ‘भुजुङमा तक्दा ७८ र गुम्दा नामक चियाखेती गरिँदै आएको छ।’
_x000D_
_x000D_
समुद्री सतहदेखि एक हजार ६०० देखि एक हजार ७०० मिटरको उचाइको ठाउँमा गरिएको चिया पुस र माघबाहेक १५÷१५ दिनको फरकमा टिप्ने गरिएको स्थानीयवासी बताउँछन्। अहिले गाउँमै प्रशोधन केन्द्र सञ्चालन गरिएकाले गाउँमै चियाको प्रशोधन हुने गरेको छ।
_x000D_
_x000D_
भुजुङमा पछिल्लो समय चिया बगान हेर्न महिला समूह र विद्यार्थीहरु पनि आउने गरेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।