ब्याक्टेरियासँगको लडाइँमा मानव पराजित नहुने हो भने नयाँ औषधीको खोजी नहुन्जेल भइरहेको औषधी ब्याक्टेरियाले पचाउन दिनबाट रोक्नुपर्छ। यही कारणले वैज्ञानिकहरुले ब्याक्टेरियाको शिकार गर्ने औषधी (एन्टिबायोटिक)लाई पहिलो, दोस्रो र तेस्रो गरी तीन लाइनमा वर्गीकरण गरेका छन्। ब्याक्टेरियाको संक्रमणबाट बिरामी पर्दा सुरुमा पहिलो लाइनकै एन्टिबायोटिक प्रयोग गर्नुपर्छ। निश्चित अवधि र मात्राअनुसार उक्त एन्टिबायोटिक प्रयोग गर्दा ब्याक्टेरिया मर्छन्। तर, यसो गर्दा ब्याक्टेरिया मरेनन् भने दोस्रो र त्यसले पनि भएन भने मात्रै तेस्रो लाइनका एन्टिबायोटिक प्रयोग गर्नुपर्ने विश्वव्यापी मान्यता छ।
_x000D_
_x000D_
विश्वको जल्दोबल्दो समस्या भएको कुरा जानेबुझेका नेपाली चिकित्सकहरुले समेत यो मान्यतालाई प्रयोगमा ल्याइरहेका छैनन्। चिकित्सक नै यो समस्या नियन्त्रणका लागि ठूलो समस्या हुन सक्ने देखिएको छ। राम्रो चिकित्सकका रुपमा आफूलाई उभ्याइरहन उनीहरुले एकैपल्ट तेस्रो लाइनको एन्बिायोटिक सिफारिस गर्ने देखिएको शिक्षण अस्पताल महराजगञ्जका आइसियू इन्चार्ज डा. सुवास आचार्य बताउँछन्।
_x000D_
_x000D_
उनी भन्छन्, ‘ठूला डाक्टरकोमा उपचार गराएका बिरामीले कडा एन्टिबायोटिक पाएको देखिएको छ। नरम एन्टिबायोटिक दिएर बिरामीमाथि जोखिम मोल्न नचाहने डाक्टरहरु हामीले प्रसस्त पाएका छौं।’
_x000D_
_x000D_
यसैगरी ग्रामिण भेगमा रहेका स्वास्थ्यकर्मीहरुले आफूलार्इ राम्रो उपचार गर्ने व्यक्ति कहलाउन कडा खालका एन्टिबायोटिक चलाउन गरेका छन्। त्यहाँ निको नभएर रिफरल अस्पतालमा उपचार गर्ने पुगेका बिरामीलार्इ सामान्य एन्टिबायोटिकले नछुने गरेको चिकित्सकहरु बताउँछन्।
_x000D_
_x000D_
रोग च्वाट्टै निको पार्ने चिकित्सकका रुपमा कहलिसकेका केही डाक्टरले त्यो ख्याति कायम राख्न कडा मात्रै होइन, दुईटा र तीनटासम्म एन्टिबायोटिक चलाउने गरेको डा अचार्यको दाबी छ। विश्वका अन्य देशमा ‘रिजर्भ’ राखिएका एन्टिबायोटिक्स पनि नेपालमा चलाइने गरेका छन्। फार्मेसी काउन्सिलका पूर्वअध्यक्ष बाबुराम हुमागाईं भन्छन्, ‘नेपालमा प्रयोगमा रहेका क्लिन्डामाइसिन, लिनोजोलेट, ट्याजोब्याक्टोम, सेफालोस्पिरिन हाइ जनेरेसन, टिजिसाइकिलिन जस्ता केही एन्टिबायोटिक्स कतिपय देशमा रिजर्भ छन्।’
_x000D_
_x000D_
कतिपय नेपाली चिकित्सकमा जति नयाँ औषधी प्रयोग गर्यो त्यति सिपालु ठहरिने भ्रम रहेको डा. अर्जुन कार्कीले भेटेका छन्। उनी भन्छन्, ‘मानौं हामी १० जना चिकित्सक छौं। हामीमध्ये जान्नबुझ्ने हुन एक जनाले विश्व बजारमा भर्खर अविस्कार भएको नयाँ औषधी प्रयोग गर्छ। जबकि पुरानै पुस्ताको एन्टिबायोटिकले पुग्थ्यो। नयाँ औषधी र नयाँ कुराका बारेमा जानकारी राख्छु भन्ने देखाउन जनस्वास्थ्यमाथि खेलबाड गरिरहेका हुन्छन्। जानकारी राख्नु राम्रो हो तर त्यसको प्रयोग अन्तिम अस्त्रका रुपमा गर्ने हो। म जान्ने, मै सिपालु देखाउन अनावश्यक एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति हावी छ। यो गलत हो। यसको आलोचना गर्नुपर्छ। यसलाई रोक्नुपर्छ।’
_x000D_
_x000D_
यसैगरी, कोही ज्वरो आएर उपचारका लागि गयो कि सुरुमै एन्टिबायोटिक दिइहाल्ने प्रवृत्ति छ। डा. कार्की भन्छन्, ‘ज्वरो विभिन्न कारणले आउँछ। त्यसैले ब्याक्टेरिया वा अन्य कुन कारण हो भन्ने यकिन गरेर एन्टिबायोटिक दिनुपर्ने अवस्था देखियो भने मात्रै त्यसको प्रयोग गर्नुपर्छ। मैले ज्वरो च्वाट्टै निको पारिनँ भने बिरामी अन्तै जान्छ। मेरो नाम पनि खराब हुन्छ भन्ने डर डाक्टरलाई छ। उनीहरु यस्तो जोखिम मोल्न चाहँदैनन् र कडा एन्बिायोटिक चलाउँछन्।’
_x000D_
_x000D_
नेपालमा डाक्टरले मात्रै होइन, नर्स, कम्पाउन्डर, औषधी पसले, स्वास्थ्यकर्मी सबैले एन्टिबायोटिक चलाउने गरेका छन्। उपयुक्त योग्यता भएकाले मात्रै एन्टिबायोटिक दिन पाउने नियम बनाउन जरुरी रहेको डा कार्की बताउछन्। अहेबलाई समेत एन्टिबायोटिक चलाउने अनुमति दिने कि नदिने, बिरामीले सिधै किन्न पाउने कि नपाउने लगायतका विषयमा बहस चलाउनुपर्न उनी बताउँछन्।
_x000D_
नेपालमा ब्याक्टेरियाको सेन्सिटिभिटी एनालाइसिस अर्थात् दिन लागिएको एन्टिबायोटिक उक्त ब्याक्टेरियाका लागि प्रभावकारी छ कि छैन भनेर हेर्ने प्रक्रिया पनि राम्रो नरहेको हुमागार्इं बताउँछन् । कमिसनको लोभमा स्वास्थ्यकर्मी र डाक्टरले अनावश्यक एन्टिबायोटिक सिफारिस गरिरहेको समेत उनको आरोप छ। उनले भने, ‘बिरामीले आफ्नो रोगका लागि होइन। डाक्टरको कमिसनका लागि औषधी खाइदिनुपर्छ।’
_x000D_
_x000D_
चिकित्सक, औषधी कम्पनी र औषधी व्यवस्था विभागका जिम्मेवार पदाधिकारीको मिलेमतोमा कडा एन्टिबायोटिक प्रयोग हुने गरेको उनको आरोप छ। कतिपय अवस्थामा डाक्टरले पटके सिफारिस लिएर यस्ता औषधी भित्र्याइदिन्छन्। जसमा विभागको नियन्त्रण कमजोर रहेको हुमागाईं बताउँछन्। उनी भन्छन्, ‘पटके भनेको एक बिरामीका लागि निश्चित मात्रामा प्रयोग गर्न अनुमति दिने हो। तर, पटके सिफारिस लिएर वर्षौंसम्म औषधी भित्र्याउने गरेको देखिन्छ।’
_x000D_
_x000D_
_x000D_
'जान्ने देखाउन नयाँ एन्टिबायोटिक चलाउने प्रवृत्ति छ'
_x000D_
_x000D_
डा अर्जुन कार्की, छातीरोग तथा आइसियू विशेषज्ञ
_x000D_
_x000D_

_x000D_
_x000D_
एन्टिबायोटिक औषधि खोज्न वर्षौं लाग्छ। विशेषगरी परीक्षण प्रक्रियामा धेरै समय लाग्छ। तर, ब्याक्टेरियाहरुले चाँडै प्रतिरोध शक्ति बनाइहाल्छन् । उनीहरु भर्खर अविस्कार भएका एन्टिबायोटिक पनि पचाइदिन्छन्। जब नयाँ औषधी पनि पचाउन थाले भने डाक्टरले के औषधी दिने? कसरी बिरामी जोगाउने? यो महामारीको अवस्था हो।
_x000D_
_x000D_
एन्टिबायोटिक चाहिने अवस्था आयो भने कुन ब्याक्टेरियालाई कति मात्रा दिने यकिन गर्नुपर्छ। हामीले तत्कालीन स्वार्थ पूर्तिका लागि भविष्यमा आउने समस्यालाई नजरअन्दाज गर्न मिल्दैन। हाम्रा डाक्टरहरुमा जति नयाँ औषधी प्रयोग गर्यो त्यति सिपालु भन्ने भ्रम छ।
_x000D_
_x000D_
पुरानै पुस्ताको एन्टिबायोटिकले पुग्ने भए पनि नयाँ औषधीबारे जानकारी राख्छु भन्ने देखाउन सबभन्दा पछिल्लोपल्ट अविस्कार भएको औषधि प्रयोग गर्न दिइहाल्ने चलन छ। खासमा पुराना पुस्ताका एन्टिबायोटिक चलाउँदा केही सीप नलागे पो नयाँको प्रयोग गर्ने हो त। जान्ने र सिपालु देखाउन गरिने यो प्रवृत्तिको आलोचना गर्नुपर्छ।
_x000D_
_x000D_
यसैगरी, जबसम्म कुनै पनि व्यक्तिले सिफारिस गर्न र औषधी पसलबाट एन्टिबायोटिक किन्न पाउने चलन रोकिँदैन, त्यतिबेलासम्म चिकित्सकलाई मात्रै रोकेर हुँदैन।
_x000D_
_x000D_
नेपालमा डाक्टरले मात्रै होइन, नर्स, कम्पाउन्डर, औषधी पसले, स्वास्थ्यकर्मी सबैले एन्टिबायोटिक चलाउँछन्। उपयुक्त योग्यता भएकाले मात्रै एन्टिबायोटिक दिन पाउने नियम बनाउन जरुरी छ। अहेबलाई समेत एन्टिबायोटिक चलाउने अनुमति दिने कि नदिने, बिरामीले सिधै किन्न पाउने कि नपाउने लगायतका विषयमा बहस चलाउनुपर्छ। यससँगै जनचेतना पनि जरुरी छ । नत्र नियन्त्रण मात्रै गरेको जस्तो देखिन्छ, नियन्त्रण हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।