काठमाडौं- नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा सवा करोड खर्च हुने व्यवस्थापन समितिले अनुमान गरेको छ।
_x000D_
_x000D_
मंसिर ५ देखि ९ सम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने महासमितिको तयारीलाई व्यवस्थापन समितिले तीव्रता दिएको छ। महासमितिका बैठकका लागि देशभरबाट १३ सयभन्दा बढी महासमिति सदस्य सहभागी हुनेछन्। प्रति निर्वाचन क्षेत्रबाट एक महिला सहित चार जना महासमिति बैठकमा सहभागी हुने व्यवस्था छ।
_x000D_
_x000D_
महासमितिमा सहभागी हुनेहरुलाई व्यवस्थापनले बिहानको चियानास्ता, खाना र दिउँसोको चिया मात्रै उपलब्ध गराउनेछ। साँझको खाना र बासस्थान भने सहभागी स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ। पार्टीलाई आर्थिक भार कम गर्नका लागि बासस्थान सहभागीले नै खोज्नुपर्ने व्यवस्थापन समितिका संयोजक तथा काठमाडौ जिल्ला समितिका सभापति सबुज बानियाँले बताए।
_x000D_
_x000D_
कांग्रेसको विधान अनुरुप प्रत्येक वर्ष महासमिति बैठक बस्नुपर्ने प्रावधान छ। महाधिवेशन भएको वर्ष भने महासमिति बैठक नहुने विधानमा उल्लेख छ। १३औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि महासमिति बैठक हुन सकेको छैन।
_x000D_
_x000D_
पार्टी सभापतिको संयोजकत्वमा महासमिति मूल आयोजक समिति बनाइएको छ। व्यवस्थापनको जिम्मेवारी उपत्यकाका तीन जिल्लालाई दिइएको छ। काठमाडौंको जिल्ला सभापति व्यवस्थापन समितिको संयोजक र ललितपुर र भक्तपुर जिल्ला सभापति सदस्य हुने गरी उपसमिति बनाइएको छ।
_x000D_
_x000D_
महासमितिकै विषयमा छलफल गर्न पदाधिकारीसहित तीन जिल्लाका सभापतिहरुको बैठक बसिसकेको छ। व्यवस्थापन समितिलाई पूर्णता दिन पाँच उपसमिति गठन गरिएको छ। आर्थिक उपसमितिलाई भने केन्द्रले नै हेर्ने भएको छ। आर्थिक उपसमितिको लागि सभापतिले आफ्नै मातहतको समितिमा राख्ने भएका छन्।
_x000D_
_x000D_
विधान मस्यौदा समितिले तयार गरेको विधानलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि महासमितिको तयारीलाई थप तीव्रता दिने व्यवस्थापन समितिका संयोजक बाँनियाले जानकारी गराए। बानियाँले कात्तिक २६ गतेसम्म केन्द्रीय कार्यसमितिले अन्तिम निर्णय दिनुपर्ने बताए।
_x000D_
_x000D_
स्वयंसेवकमा भने पार्टीको भ्रातृ संस्थाका कार्यकर्तालाई खटाउने तयारी गरिएको छ।
_x000D_
_x000D_
पार्टीको राजनीतिक प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले तयार गर्दैछन्। निधिले महासमिति बैठकमा पेस गर्ने प्रतिवेदनमा समावेश गर्ने विषयमा शीर्ष तहका नेता,राजनीतिक विश्लेषक तथा अर्थ विज्ञसँग छलफल चलाइरहेका छन्। साथै बैठकमा पेस गर्ने आर्थिक प्रतिवेदन सहमहामन्त्री डा प्रकाशशरण महतले तयार गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।