काठमाडौं– भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दलेला नेपालका लागि राजदूत नियुक्त भएको जानकारी दिएको हो। उनले छिट्टै जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जनाएको छ।
दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गरिएको यो सम्भवतः पहिलोपटक हो।
सन् २०२५ देखि आर्थिक सम्बन्ध सचिवको जिम्मेवारीमा रहेका दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष काम गरेका थिए। उनको कूटनीतिक अनुभव दक्षिण एसियाली छिमेकीसँगको सम्बन्धदेखि आर्थिक कूटनीति र बहुपक्षीय सहकार्यमसम्म फैलिएको छ।
नेपाल र भुटानसँगको सम्बन्धमा काम गरेको अनुभव
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक करिअर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए। उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
उनले सन् २००६ देखि २००७ सम्म भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा काम गरेका थिए। त्यसपछि सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनमा सहसचिवका रूपमा कार्यरत रहे। उक्त अवधिमा उनले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषयमा नजिकबाट काम गरेका थिए।
दलेलाले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा पनि काम गरेका थिए। उनको जिम्मेवारीमा दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया, इन्डो–प्यासिफिक, खाडी क्षेत्र, मध्यपूर्व र अफ्रिकी मुलुकसँगको सम्बन्धसम्बन्धी विषयसमेत परेका थिए।
आर्थिक कूटनीति र व्यापार नीतिमा दख्खल
दलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा समेत अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका थिए। विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा उनले दुईपटक सेवा गरिसकेका छन्।
भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिव रहँदा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका थिए।
त्यस्तै, अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेका दलेलाले वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
नेपालमा राजदूत भइसकेका दुई कूटनीतिज्ञ भारतका विदेश सचिव
भारतका लागि नेपालमा राजदूतको जिम्मेवारी सम्हालिसकेका श्याम शरण र विनयमोहन क्वात्रा पछि भारतको विदेश सचिव बनेका थिए।
दलेलाको नियुक्तिलाई नेपाल–भारत सम्बन्धको कूटनीतिक जिम्मेवारीमा अनुभवी अधिकारीको चयनका रूपमा हेरिएको छ। नेपालमा उनले सम्हाल्ने जिम्मेवारी र दुई देशबीचका राजनीतिक, आर्थिक तथा विकास साझेदारीका विषयमा उनको अनुभव महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।