काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह स्वदेश फर्किएका छन् । महासभामा सहभागी हुन गत मंगलबार अमेरिका प्रस्थान गरेका शाह शनिबार स्वदेश फर्किएका हुन्।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरेका थिए । जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउँदै उनले ‘हिमालयको सुनामी’ ले निम्त्याएको विनाशलाई विश्वसामु प्रस्तुत गरे। जलवायु संकटलाई बेवास्ता गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उनले दिए।
नेपालको भूमिका कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम रहे पनि हिमालमा हिउँ पग्लने, बाढी आउने र ठूलो जनधनको क्षति हुने अवस्था रहेको शाहले उल्लेख गरे। उनले जलवायु न्यायलाई व्यवहारमै कार्यान्वयन गर्न जोड दिए।
उनले युद्ध र हतियारमा खर्च हुने स्रोतलाई मानवता, विकास र खाद्य सुरक्षामा केन्द्रित गर्न विश्व नेताहरूलाई आग्रह गरे । सम्बोधनका क्रममा शाहले हिमालय क्षेत्रको सुरक्षाका लागि नेपाल, भारत र चीन सहितको ‘हिमालय जलवायु लचिलोपन संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरे। हिमालयलाई कुनै एउटा देशको राजनीतिक सीमाभित्र मात्र सीमित नगरी विश्वको जीवन रक्षा प्रणालीका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
विपद् व्यवस्थापनका लागि राहत र पुनःस्थापनासँगै जिम्मेवारी, क्षतिपूर्ति र लचिलोपनलाई प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री शाहले बताएका थिए। जलवायु परिवर्तनका चेतावनीलाई बेवास्ता गरिरहे त्यसको असर नेपालजस्ता मुलुकमा मात्र सीमित नरहने भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर बन्न आग्रह गरेका थिए ।
अमेरिकामा रहँदा उनले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।