काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका–५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित १७ वर्षीय सुजल चापागाईंको निर्वाचित जिम्मेवारी पार्टीले स्थगित गरेको छ।
कांग्रेसको विधानले पार्टी सदस्य बन्न न्यूनतम १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेकाले उमेर नपुगेको अवस्थामा निर्वाचित भएका चापागाईंको जिम्मेवारी स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा चापागाईं १७ वर्ष पूरा भए पनि १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएको उल्लेख छ। नागरिकताको विवरणअनुसार उनी आगामी २०८३ माघ १८ गते १८ वर्ष पूरा हुनेछन्।
कांग्रेस विधान २०१७ को एघारौँ संशोधनसहितको धारा ४ को उपधारा १ (क) (१) मा पार्टी सदस्यका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार चापागाईंको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित गरिएको समितिले स्पष्ट पारेको छ।
समितिका अनुसार चापागाईं १८ वर्ष पुगेपछि पार्टी सदस्यता लिन चाहेमा त्यसपछि मात्र सदस्यता कायम हुने व्यवस्था लागू हुनेछ।
अन्य जिल्लामा पनि छानबिन हुने
केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत अन्य जिल्लाका वडा तहमा पनि उमेर नपुगेका व्यक्ति निर्वाचित भएको पाइएमा चापागाईंको हकमा अपनाइएको प्रक्रियाअनुसार नै कारबाही हुने जनाएको छ।
समितिले सम्बन्धित सबैलाई विधानमा तोकिएको उमेरसम्बन्धी प्रावधान कार्यान्वयन गर्नसमेत जानकारी गराएको छ।
यसअघि विभिन्न सञ्चारमाध्यममा इलाममा १७ वर्षमै क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको समाचार प्रकाशित भएपछि कांग्रेसको उमेरसम्बन्धी वैधानिक प्रावधान र निर्वाचन प्रक्रियाबारे प्रश्न उठेको थियो। त्यसपछि केन्द्रीय निर्वाचन समितिले चापागाईंको उमेर विवरण हेरेर उनको निर्वाचित जिम्मेवारी स्थगित गरेको हो।
समितिले भने वडा अधिवेशनबाट निर्वाचित भएको तथ्यभन्दा पनि पार्टी सदस्य बन्न आवश्यक न्यूनतम उमेर पूरा नभएको विषयलाई आधार बनाएर जिम्मेवारी स्थगित गरिएको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।