काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले भोटेकोसी बाढीका कारण बेपत्ता भएका नागरिकहरूको अवस्था र तिनका परिवारले पाउनुपर्ने राहतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद पराजुलीले लामो समय बितिसक्दा पनि पीडित परिवारले राज्यबाट पाउनुपर्ने राहत र सहयोग नपाएको भन्दै आक्रोश पोखेका छन्।
सांसद पराजुलीले बाढीका कारण बेपत्ता भएका नागरिकहरूको खोजी कार्य र राहत वितरणमा सरकारले तदारुकता नदेखाएको आरोप लगाए।
‘भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकबारे सरकारले हालसम्म ठोस निर्णय लिन सकेको छैन,’ उनले भने, ‘सरकारको यही गैरजिम्मेवारपनका कारण पीडित परिवारहरू राहत पाउनबाट वञ्चित भएका छन्। म तत्काल निर्णय लिएर पीडित परिवारको व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गर्दछु।’
सांसद पराजुलीले भोटेकोसी बाढीलाई केवल एउटा जिल्लाको समस्याका रूपमा मात्र नहेर्न सरकारलाई चेतावनी दिए। बाढी गएको स्थान अन्तर्राष्ट्रिय नाकासँग जोडिएको उल्लेख गर्दै उनले यसबाट मुलुकको ठुलो भूगोल प्रभावित भएको बताए।
‘यो केवल सिन्धुपाल्चोकको मात्र समस्या होइन, भोटेकोसी बाढीबाट मुलुकका ६२ वटा जिल्ला प्रत्यक्ष रूपमा प्रभावित भएका छन्,’ उनले भने। यो विपत्तिले सिर्जना गरेको आर्थिक र सामाजिक क्षतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै प्रभाव पारेको बताउँदै उनले यसलाई राष्ट्रिय विपत्तिको रूपमा घोषणा गरी राहत र पुनर्निर्माणको कामलाई तीव्रता दिन माग गरे।
सांसद पराजुलीले बाढी पीडित र बेपत्ता भएका नागरिकका परिवारको जीविकोपार्जनका लागि स्पष्ट कार्यविधि बनाएर तत्काल सहयोग वितरण गर्न सरकारसँग माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।