काठमाडौं- बलात्कार, एसिड आक्रमणलगायतका महिला हिंसा बढेसँगै यसविरुद्धको आन्दोलन पनि चर्किरहेको छ। तर, यस्ता आन्दोलनले अपराधीको मनोबल भने कमजोर भएको देखिदैंन। बारम्बार दोहोरिरहने महिला हिंसाका यस्ता घटनाले विगत बल्झाउने गरेको पीडितहरु बताउँछन्। केही महिनायता, दोहोरिरहेका एसिड आक्रमणका घटनाले सीमा बस्नेतलाई पनि विगततर्फ धकेल्ने गरेको छ।
_x000D_
_x000D_
२०७१ साल फागुन १० गते ट्युसन पढ्न गएका बेला संगीता पुलामी मगर र सीमामाथि एसिड आक्रमण भएको थियो। साढे तीन वर्ष पहिलेको पीडाबाट माथि उठ्न खोज्दा पनि बारम्बार हुने यस्ता घट्नाले मानसिक पीडा दिने गरेको बस्नेतको अनुभव छ। एसिड आक्रमणका घटना नरोकिएपछि अहिले मगर र बस्नेतलगायतले विभिन्न स्थानमा गएर पीडित परिवारलाई भेट्नुका साथै पीडितको उपचारका लागि सहयोग जुटाउन लागि परेका छन्। एसिड आक्रमणपछिको जीवन र अभियानका सन्दर्भमा नेपाल लाइभकी पुष्पा केसीसँग सीमा बस्नेतले अाफ्ना अनुभव, अभियानका बारेका प्रकाश पारेकी छन्।
_x000D_
_x000D_
दसैंअघि एसिड आक्रमणका घटना निरन्तर भए। यसले दसैं उत्साह जनकभन्दा पनि निराशाजनक बनायो। सम्झना दास र सुस्मिता दासमाथि भएको एसिड आक्रमण लगत्तै नवलपरासीमा बसन्ती परियारमाथि एसिड आक्रमणसँगै चक्कु प्रहार भयो। दसैंअघि उनीहरुको उपचारका लागि सहयोग जुटाउनतिर लागियो।
_x000D_
_x000D_
_x000D_
_x000D_
राजधानीको मुटुमा भएर होला, संगीता र ममाथि एसिड आक्रमण हुदाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्मै यस घटनाले चर्चा पायो। हामीले सहयोग पनि पायौं। तर, सम्झना र सुस्मिता दासमाथि एसिड आक्रमण हुँदा मैले नै दुई दिनपछि थाहा पाएँ। सम्झना र सुस्मितालाई राखेको अस्पतालको शय्यामा पुग्दा त्यहाँ न सरकार पुगेको रहेछ, न अन्य कुनै संघ-संस्था। घटना भएपछि कम्तीमा सरकार त पीडितसम्म त पुग्नुपर्ने हो नि! पीडितलाई हामीसँग राज्य छ भन्ने अनुभूति गराउनु पर्ने हो। तर, त्यस्तो देखिएन।
_x000D_
_x000D_
मैले सम्झना र सुस्मिताको उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी थिएँ। तर, अहिलेसम्म त्यसबारे कुनै जानकारी पाएकी छैन। सरकार अस्पताल पुगेर हेर्नुपर्ने अवस्थामा सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकारबाट कुनै सहयोग नपाउँदा पीडा हुन्छ।
_x000D_
_x000D_
अहिले विभिन्न स्थानमा गएर एसिड आक्रमणका घाइतेलाई भेटिरहेका छौं। किनभने एसिडको जलन र पीडा त साढे तीन वर्ष पहिले नै झेलिसकेका छौं। त्यस्तो अवस्थामा पीडितलाई कोही आएर सहयोग गरिदेओस्, कोही आएर भेटिदिए हुने थियो भन्ने लाग्छ। जतिबेला पीडामा परिन्छ त्यतिबेला पीडितलाई समाजको आवश्यकता परेको हुन्छ।
_x000D_
_x000D_
राज्य त मौन छँदैछ, यस्तो अवस्थामा हामीले पीडितलाई सक्दो सहयोग गर्दै आएका छौं। सम्झना र सुस्मिता दासको लागि सक्दो गरियो। तर, सम्झनालाई बचाउँन सकिएन। सम्झनाको मृत्यु लगत्तै उनको बुबासँग एम्बुलेन्समा रौतहट गयौं। त्यहाँ लगेकै दिन स्थानीयको विरोधका कारण लास जलाउन पाइएन। भोलिपल्ट खोलामा सम्झनाको लास जलाउँदै गर्दा अपडेट हुन फेसबुक खोलेको फेरी नवलपरासीमा वसन्ती परियारमाथि चक्कु र एसिड प्रहार भइसकेको रहेछ। त्यतिबेला म कुन अवस्थामा छु भनेर आफूले आफैंलाई चिन्न सकिन। सम्झनाको लास जलाइसकेपछि म काठमाडौं आएर संगीतालाई लिएर बसन्तीलाई राखिएको अस्पताल चितवन पुग्यौं । अनि, उनको उपचारमा लाग्यौं।
_x000D_
_x000D_
बारम्बार दोहोरिरहने एसिड आक्रमणका घटनाले विगतबाट माथि उठ्न कोसिस गर्दा पनि थिचिरहन्छ। विगतबाट माथि उठौं भन्दा त्यही अवस्थामा फर्कन बाध्य भइन्छ। विगतकै घटना यादमा आइरहन्छ। यस्ता घटनाले साढे तीन वर्ष अघिकै जलनलाई ताजा बनाउँछ।
_x000D_
_x000D_
कुनै पनि घटनाबाट मानिस पीडित हुन्छ। यहाँ सबैले संघर्ष गर्नुपर्छ। तर, पीडित वर्गले अझ धेरै संघर्ष गर्नुपर्छ। पीडितले सामाजिक, आर्थिक, मानसिक सबै तवरमा पीडाहरु झेल्दैं अगाडि बढ्नुपर्छ। हिम्मत भने हार्नु हुँदैन। कुरुप अनुहार लिएर हिड्दा समाजसँग प्रत्यक्ष साक्षात्कार गर्नुपर्छ। यस्तो अवस्थामा आफूले आफैंलाई सम्हाल्न जरुरी छ। मेरो बाहिरी आवरण केही होइन। भित्री मन राम्रो हुनुपर्छ भन्ने सोच र हिम्मतलाई लिएर अगाडि बढ्नुपर्छ।
_x000D_
_x000D_
कुनै घटना भइसकेपछि मलाई मात्र होइन, सबैलाई मानसिक असर पुग्छ। एसिडको पीडा सबैलाई एउटै हुन्छ। जलन, आर्थिक, सामाजिक सबै पीडा लगभग एउटै हुन्छ। यस्ता घटनाले पढाईमा झन् असर गर्छ। पढ्न मन लाग्दैन्। नकारात्मक सोचहरु आउँछन्। आफूमा पैदा हुने नकारात्मक विचारलाई सकारात्मकतर्फ लिन सकियो भने राम्रो हुन्छ। नत्र, गाह्रो हुने रहेछ।
_x000D_
_x000D_
जीवन विकले हामीमाथि एसिड आक्रमण गरेपछि घटनाका विषयमा समाजमा विभिन्न टीका-टिप्पणी भए। उसो त सो घटना मात्र होइन, त्यस्ता अनेकौं महिला हिंसाका घटनालाई लिएर समाजमा विभिन्न अड्कल बाजी काट्दै पीडितलाई थप पीडा दिने गरिन्छ। छोरा र छोरीमाथिको भेदभावका कारण समाजमा पीडकभन्दा पीडित थप पीडाबाट गुज्रिनु परेको छ।
_x000D_
_x000D_
समाजले नै कतिपय सन्दर्भमा पीडकलाई थप प्रोत्साहन गर्ने र महिलालाई दोषी देखाउने पनि गरेको छ। यस्तो अवस्थामा मानसिक र शारिरिक पीडा थप खेप्नु पर्छ। पीडित त एक ठाउँमा पीडित हुन्छन्। मलम लगाउने ठाउँमा कतिले नुन चुक छर्कने काम गर्छन्। यसले पीडाबाट गुर्जिनु परेको अवस्थामा अझ मनोबल गिराउँछ र कमजोर बनाउँदै लैजान्छ।
_x000D_
_x000D_
समाजले यस्ता घटना बुझिदिदाँ बाँच्ने हौसलासँगै केही गरौं भन्ने मनोभाव पैदा हुन्छ। तर, समाजले पीडितलाई नै दोषी ठहर्यायो भने गाह्रो हुन्छ।
_x000D_
_x000D_
एसिड आक्रमणपछि मेरो जीवन परिवर्तन भएको छ। पहिलेको सीमा र अहिलेको सीमालाई दाँज्दा म पहिलेको सीमा रहिनँ। एसिड आक्रमणपछि म अलि कुरा बुझ्ने भएकी छु। यस्तो पीडाबाट माथि उठेर आउँदा कति संघर्ष गर्नुपर्छ सबै झेलिसकेपछि आफूलाई नै फरक पाएकी छु।
_x000D_
_x000D_
ममाथि भएको आक्रमणलाई मैले शोकमा भन्दा शक्तिमा बदलें। कहिलेसम्म शोकमा डुबेर बस्ने? विगत सम्झेर कतिसम्म एउटा कोठामा थुनिएर बस्ने? कतिसम्म रोएर बस्ने? बाहिरी आवरण, सुन्दरता केही होइन भन्ने लाग्छ। हामीसँग दिमाग छ। काम गर्न सक्ने हात खुट्टा छन्। सिंगो शरीर छ।
_x000D_
_x000D_
साढे तीन वर्षको यात्रासम्म देश विदेशका विभिन्न ठाउँमा पुगें। प्रायःजसो महिलामाथि हुने हिंसा चिनेजानेकै आफन्तबाट हुने गरेको पाएँ। अर्को, एकतर्फी प्रेमका कारण पनि महिलामाथि एसिड आक्रमणलगाायतका घटना हुने गरेका छन्। अपराधीले गहिराईसम्म पुगेर महिलाको कमजोरी पत्ता लगाई आक्रमण गरेको पाइन्छ। महिलाको परिवारिक अवस्थादेखि कानूनसम्मको सबै कमजोरी पत्ता लगाएर अपराधीले महिलामाथि आक्रमण गरेको पाइन्छ।
_x000D_
_x000D_
नेपालमा महिला हिंसा बढ्नुमा पनि कमजोर कानून नै हो। जेल जानु भनेको नेपालमा ससुराली वा मामाघर गए जस्तै हो। अपराधीलाई आजीवन जन्द कैदको सजायँ भयो भने अपराधमा पनि कमी आउने थियो होला। कमजोर कानूनकै कारण अपराधी बलियो बन्दै गएका छन्। बढ्दो क्रममा देखिएका महिला हिंसाका घटनाप्रति राज्य फिटिक्कै गम्भीर देखिएको छैन। अपराधी नसमातिएको अवस्था चौतर्फी आन्दोलन र दबाबले मात्र काम गर्छ।
_x000D_
_x000D_
एसिड आक्रमणका पीडितलाई विभिन्न स्थानमा गएर भेट्दा उनीहरुले अगाडि आएर बोल्न नसके पनि अपराधीलाई आजीवन जन्म कैदको सजाय हुनुपर्ने बताउँछन्।
_x000D_
_x000D_
हिजो हामीमाथि भएको घटना भोली कसैलाई नहोस् भनेर अहिले एसिड आक्रमणलगायत महिला हिंसा विरुद्धको अभियानमा जुटेका छौं। एसिड आक्रमणको पीडाबाट गुज्रिएपछि कतिपय पीडितहरु त्यसबाट बाहिर आउन र उपचार गराउन पनि सक्दैनन्। त्यस्ता एसिड आक्रमणबाट पीडितका लागि हामी एउटा संस्था दर्ता गर्ने योजनामा छौं।
_x000D_
_x000D_
सम्झना र सुस्मिता दासमाथि भएको एसिड आक्रमणपछि अब म चुप लागेर बस्न हुँदैन भन्ने लाग्यो। र, अहिले सक्रियताका साथ लागि परेका छौं। उनीहरुको लागि केही गर्नुपर्छ। देशमा अत्ति नै हुन लाग्यो भन्ने सोचेर अहिले यो अभियानमा जुटेका हौं। यस्ता घटना रोक्न त सकिदैंन। तर, अभियान सञ्चालनले केही कम गर्न सकिन्छ कि भन्ने आशा र विश्वास हो।
_x000D_
_x000D_
अन्त्यमा, म सीमा मात्र बोलिरहेकी छैन। यो आवाज सीमाको मात्र होइन। नेपालमा जति पनि एसिडबाट पीडित हुनुहुन्छ, यो सबैको सिंगो आवाज हो। कसैले पनि हिम्मत नहार्नुहोस्। हामी तपाईंहरुको साथमा छौं। र, हामी मिलेर समाजमा केही परिवर्तन ल्याउनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।