काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन प्रक्रिया तेस्रो दिन पनि उत्साहप्रद रूपमा अघि बढेको कांग्रेसले जनाएको छ ।
अधिवेशन सम्पन्न भएका जिल्लामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्ला छन् ।
धनुषा क्षेत्र नं. ४, मोरङ क्षेत्र नं. ६, अछामका तीन वडा, नवलपरासी क्षेत्र नं. २, डडेल्धुराका चार वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा तथा सप्तरी क्षेत्र नं. २ र ४ लगायतका क्षेत्रमा वडा अधिवेशन अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।
त्यस्तै सिरहा, रौतहट क्षेत्र नं. १ र सर्लाही क्षेत्र नं. २ का वडाको अधिवेशन पनि अन्तिम चरणमा रहेको छ ।
धादिङ, नुवाकोट तथा असोज ५ गतेसम्म सम्पन्न हुन बाँकी रहेका अन्य वडाको अधिवेशन असोज ६ गते पनि जारी रहने कांग्रेसले जनाएको छ ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।