काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनले दोस्रो दिन पनि निरन्तरता पाएको छ । असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत असोज ४ गतेसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको छ । दोस्रो दिन पनि विभिन्न जिल्लामा अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भएको समितिले जनाएको छ ।
रसुवा, नुवाकोट र धादिङबाहेकका जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ । सप्तरीका क्षेत्र नं. २ र ४, मोरङको क्षेत्र नं. ६, रौतहटको क्षेत्र नं. १, सर्लाहीको क्षेत्र नं. २ तथा परासीको क्षेत्र नं. २ लगायत केही क्षेत्रमा भने वडा अधिवेशन बाँकी छ ।
केन्द्रीय निर्वाचन समितिले आज सम्पन्न हुन नसकेका वडा अधिवेशनसहित बाँकी रहेका क्षेत्रको निर्वाचन प्रक्रिया असोज ५ गते सोमबार पनि जारी रहने जनाएको छ ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।