काठमाडौं– एमाले सचिव महेश बस्नेतले पार्टी पुनर्गठन कार्यादलले एकीकृत प्रतिवेदन तयार गरेको र त्यसमा अध्यक्षको राजीनामा नमाग्ने लगायतका विषयहरू अब नउठाउने सहमति जुटेको दाबी गरेका छन् ।
बैठकपछि सञ्चारकर्मीमाझ सचिव महेश बस्नेतले ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति जुटेको सचिव महेश बस्नेतले दाबी गरे । उक्त प्रतिवेदन अब पार्टी सचिवालय बैठकमा पेस हुने र भोलिबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा लगिने सचिव महेश बस्नेतले जानकारी दिए ।
आज पार्टी कार्यालयमा बसेको कार्यादलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेका प्रतिवेदनलाई एकीकृत पारेर ल्याइएको र उक्त प्रतिवेदन अब अघि बढ्ने उनले बताए ।
‘यो समग्र परिवेशलाई ध्यानमा राखेर कार्यदलको बल्थली बैठकपछि आएका सबै मस्यौदा प्रस्ताव र बैठकमा सदस्यहरूले राख्नुभएका सुझावहरूलाई समेटेर एकीकृत प्रतिवेदन ल्याउन तीन जना नेताहरूलाई जिम्मा दिइएको थियो। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो र त्यसैलाई हामीले छलफलको मुख्य आधार बनायौं त्यसका सन्दर्भमा केही कुराहरूलाई अझ स्पष्ट पार्ने गरी छलफल भयो’ बैठकपछि बस्नेतले भने ।
अध्यक्षको राजीनामा माग्ने वा अध्यक्षलाई हटाउने भन्ने कुरा भ्रामक भएको दाबी गर्दै उनले अब अध्यक्षको राजीनामा कहीँ-कतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा उल्लेख नगर्ने र अध्यक्षको आलोचना कसैले कहीँ-कतै नगर्ने सहमति भएको दाबी गरे ।
उनले भने, ‘अध्यक्षको आलोचना नगर्ने, राजीनामा नमाग्ने पदबाट नहटाउने कहिँ पनि बोल्दा पनि नबोल्ने, विशेष महाधिवेशन नगर्ने ७० वर्षे, २ कार्यकाल र नेतृत्व परिवर्तनको कुरा भोलि नियमित महाधिवेशन/विधान अधिवेशनबाट हुन्छ भने त्यो त्यतिबेलाकै कुरा हो ।’
पार्टीलाई जुझारु ढंगले अघि बढाउने, सरकारको अधिनायकवादी शैलीविरुद्ध सशक्त ढंगले आन्दोलन गर्न प्रतिनिधि परिषद्बको बैठक डाक्ने निर्णय भएको बस्नेतले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।