काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवामा आएको बाढी पहिरोपछि उद्धार, राहत तथा पुन:स्थापनामा सरकारले गरेको कामको समीक्षा गर्न केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठकमा रसुवाको बाढी पहिरोपछि उत्पन्न अवस्थाबारे विस्तृत छलफल हुने उनले जानकारी दिए। विपद्पछि सरकारले अघि बढाएका उद्धार, राहत तथा पुन:स्थापनाका काम, त्यसमा पार्टीले निर्वाह गरेको भूमिका र आगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे बैठकमा समीक्षा गरिनेछ।
त्यस्तै, विपद् व्यवस्थापनका सन्दर्भमा सरकारलाई दिनुपर्ने सुझावका विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता ज्वालाले बताए।
बाढी पहिरो प्रभावितको उद्धार, राहत र पुन:स्थापनामा सरकारको कामको मूल्यांकन गरी आवश्यक विषयमा सरकारको ध्यानाकर्षण गराउने पार्टीको तयारी रहेको उनले जानकारी दिए।
बैठकमा विपद्सँग सम्बन्धित विषयबाहेक पार्टीका आन्तरिक संगठनात्मक सवाल र पछिल्लो राष्ट्रिय राजनीतिक अवस्थाबारे समेत छलफल हुने भएको छ।
प्रवक्ता ज्वालाका अनुसार बैठकबाट प्राप्त निष्कर्षका आधारमा पार्टीले सरकारलाई आवश्यक सुझाव दिनेछ। प्रभावित नागरिकको राहत तथा पुन:स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने विषयलाई बैठकले प्राथमिकतामा राख्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।