काठमाडौं– बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबारी र कमलापुर क्षेत्रमा गरी ६ वटा बम विस्फोट भएका छन् भने तीनवटा बसमा आगजनी गरिएको छ।
जत्राबारीको समाद सुपर मार्केटअगाडि शनिबार साँझ करिब ७ः४० बजे चारवटा बम विस्फोट हुँदा एक जना रिक्सा चालक घाइते भएका छन्। त्यसको केही घण्टापछि कमलापुर रेलवे स्टेसनको प्लेटफर्म नम्बर २ को टाढाको भागमा थप दुईवटा बम विस्फोट भएका थिए। रेलवे स्टेसनमा भएको घटनामा भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
यी घटनाभन्दा एक दिनअघि शुक्रबार पनि ढाकाका विभिन्न स्थानमा बम विस्फोट भएका थिए। जत्राबारी प्रहरी चौकी, मालिबाग, अगरगाउँ, महाखाली, मगबजार, रामपुरा र ढाका कलेज आसपासमा विस्फोट भएको रिपोर्ट सार्वजनिक भएको थियो। बम विस्फोटसँगै शनिबार साँझ राजधानीका तीन स्थानमा बसमा आगजनी भएको छ। मिरपुर–११ स्थित जमजम टावरनजिक शिखोर परिवहनको बसमा साँझ करिब ७ः१३ बजे आगो लगाइएको थियो।
त्यसैगरी मिरपुर–१ को अन्सार क्याम्प क्षेत्रमा अभिजात परिवहनको बसमा पनि आगजनी भएको थियो। सेन्ट्रल बड्डास्थित गाडी ग्यारेज नजिक पार्क गरिएको अलिफ परिवहनको बसमा राति करिब ८ बजे आगो लगाइएको थियो। तीनै घटनामा मानवीय क्षति नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। लगातार भएका विस्फोट र आगजनीका घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। पछिल्ला दुई दिनमा राजधानीका विभिन्न स्थानमा विस्फोट र सार्वजनिक यातायातमा आगजनीका घटना दोहोरिएपछि ढाकाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।