काठमाडौं– मध्यपूर्वमा तनाव बढिरहेका बेला अमेरिकाले आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ।
अमेरिकी विदेश विभागले क्षेत्रको अवस्था थप बिग्रिन सक्ने भन्दै मानिसहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो। अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भनेको छ।
ती देशको भ्रमण गर्ने अमेरिकी नागरिकलाई पनि सावधानी अपनाउन तथा उडान र विमानस्थलसँग सम्बन्धित पछिल्लो जानकारी नियमित रूपमा हेर्न आग्रह गरिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्प डेभिडको आफ्नो भ्रमण निर्धारित समयभन्दा एक दिनअघि नै समाप्त गरी शनिबार साँझ ह्वाइट हाउस फर्किएका छन्। उनको भ्रमण छोट्याएर फर्किनुको कारण ह्वाइट हाउसले सार्वजनिक गरेको छैन।
यसैबीच ‘रशिया टुडे’को रिपोर्टअनुसार अमेरिकी बी-वान बी लान्सर बमवर्षक बेलायतस्थित राफ फेयरफोर्ड एयरबेसबाट पूर्ण आफ्टरबर्नर प्रयोग गर्दै मध्यपूर्वतर्फ उडेको दाबी गरिएको छ। बेलायती एयरबेसबाट अमेरिकी विमान उडेको भनिएको भिडियोसमेत सार्वजनिक गरिएको रिपोर्टमा उल्लेख छ।
इरानको सरकारी समाचार माध्यम प्रेस टीभीले उत्तरपूर्वी सिरियाको अल-हसकाहस्थित खाराब अल-जिर एयरबेसनजिकै हवाई प्रतिरक्षा गतिविधि देखिएको जनाएको छ। यी विवरणको स्वतन्त्र पुष्टि भएको छैन।
इरानले युद्ध अन्त्यका लागि सात सर्त राखेको दाबी
यसैबीच इरानले जारी युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातवटा सर्त अघि सारेको दाबी गरिएको छ। इरानले आफ्ना माग पूरा नभए युद्ध जारी राख्न तयार रहेको बताएको सामग्रीमा उल्लेख छ।
इरानका सुरक्षा प्रमुख मोहसिन रेजाईले अल जजिरासँगको कुराकानीमा कतारले मध्यस्थका रूपमा इरानका सर्तहरू अमेरिकासमक्ष पुर्याएको बताएका छन्। उनका अनुसार इरान अहिले अमेरिकी राष्ट्रपति ट्रम्पको जवाफको प्रतीक्षामा छ।
रेजाईका अनुसार इरानका मागमा सबै मोर्चामा युद्ध रोक्नु, विदेशमा रोक्का गरिएका इरानी रकम फुकुवा गर्नु र नौसैनिक नाकाबन्दी अन्त्य गर्नु लगायतका विषय समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।