काठमाडौं– नेकपा एमालेले पार्टीको निर्वाचन समीक्षा र आगामी पुनर्गठनका विषयलाई केन्द्रमा राख्दै लगातार तीन तहका बैठक आयोजना गर्ने भएको छ।
पार्टीले आइतबार पहिले कार्यदल र त्यसपछि केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे कार्यदलको बैठक बस्नेछ। दिउँसो १ बजे भने केन्द्रीय सचिवालयको बैठक हुनेछ।
यी दुवै बैठकबाट हुने छलफल तथा निर्णयलाई त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ। एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ ददेखि ७ गते तीन दिन ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने तय भएको छ।
पछिल्लो समय एमालेभित्र पार्टीको निर्वाचन समीक्षा, संगठनात्मक पुनर्गठनलगायतका विषयमा छलफल चलिरहेको छ। यही प्रक्रियालाई अघि बढाउने क्रममा कार्यदलदेखि केन्द्रीय सचिवालय हुँदै केन्द्रीय कमिटीसम्मका बैठक तय भएका हुन्।
आइतबार हुने दुई बैठकले तय गर्ने एजेन्डा र निष्कर्षले असोज ५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको छलफललाई समेत आधार दिने देखिएको छ। केन्द्रीय कमिटी बैठकमा यसअघि भएका छलफल तथा निर्णयसहित पार्टीको निर्वाचन समीक्षा र पुनर्गठनसम्बन्धी विषयमा थप छलफल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।