काठमाडौं– साउदी अरबले यमनका हुथी विद्रोहीले आफ्नो राजधानी रियादलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गर्ने प्रयास गरेको पुष्टि गरेको छ।
इरानसमर्थित हुथी विद्रोहीसँगको संघर्ष बढेपछि रियादलाई लक्षित गरिएको यो पहिलो मिसाइल आक्रमण प्रयास भएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ।
गठबन्धनका अनुसार शनिबार बिहान गरिएको मिसाइल प्रहारको प्रयासलाई बाटोमै रोकिएको थियो। रियादका केही बासिन्दाले विस्फोटको आवाज सुनेका थिए भने पछि केहीले विमानस्थलनजिकै धुवाँको मुस्लो देखेका थिए। घटनामा मानवीय क्षति वा भौतिक संरचनामा क्षति भएको विवरण भने आएको छैन।
साउदी गठबन्धनले हुथी विद्रोहीले लालसागरस्थित बन्दरगाह सहर यान्बु, ताइफ, बैश र फरासनमा रहेका नागरिक पूर्वाधारलाई समेत लक्षित गर्ने प्रयास गरेको जनाएको छ। यान्बुमा साउदी अरबको एउटा महत्वपूर्ण तेल पाइपलाइनको अन्तिम बिन्दु रहेको छ। ती आक्रमण प्रयास पनि विफल पारिएको गठबन्धनको दाबी छ। घटनाबारे गठबन्धनले थप विवरण भने दिएको छैन।
यसअघि हुथी विद्रोहीले कुनै प्रमाण प्रस्तुत नगरी रियादका ‘संवेदनशील स्थल’ तथा यान्बुमा रहेको साउदी तेल कम्पनी अराम्कोका संरचनालाई लक्षित गरेको दाबी गरेका थिए। उनीहरूले आक्रमणबाट ‘ठूला आगलागी’ भएको बताएका थिए। विश्वकै ठूलो तेल कम्पनी अराम्कोले यसबारे टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएको छैन।
हुथी सैन्य प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले आफूहरूले क्रुज र ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रयोग गरी आक्रमण गरेको दाबी गरेका छन्। उनका अनुसार साउदी अरबले छिमेकी यमनमा हुथीको नियन्त्रणमा रहेको राजधानी सानालाई लक्षित गर्ने प्रयास गरेको थियो। उनले त्यसबारे थप विवरण भने दिएनन्। यी दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ।
लालसागर नजिकैको अर्को महत्त्वपूर्ण विश्वव्यापी समुद्री व्यापारिक मार्ग आसपास बढ्दो द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा थप दबाब सिर्जना गरेको छ।
पछिल्ला दिनमा साउदी अरब र हुथीबीचको तनाव लगातार बढिरहेको छ। बिहीबार साउदी नागरिक सुरक्षाकर्मीले रोकिएको हुथी ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा बस्दै आएका एक यमनी नागरिकको मृत्यु भएको जनाएको थियो। यो संघर्षमा पहिलो नागरिक मृत्यु भएको बताइएको छ।
त्यसअघि बुधबार साउदी अरबले हुथीले इस्लाम धर्मको सबैभन्दा पवित्र सहर मक्कालाई ड्रोनमार्फत लक्षित गर्ने प्रयास गरेको र उक्त ड्रोनलाई रोकिएको जनाएको थियो। साउदी अरबले पैगम्बर मोहम्मदको जन्मस्थल मक्काको सुरक्षालाई ‘रातो रेखा’ भन्दै चेतावनी दिएको थियो। हुथीहरूले भने उक्त आरोपलाई कडा रूपमा अस्वीकार गरेका थिए।
साउदी अरबको निकट सहयोगी अमेरिकाले हाल हुथीविरुद्ध प्रत्यक्ष सैन्य संघर्षमा संलग्न हुने संकेत दिएको छैन। क्षेत्रीय अधिकारीहरूले एसोसिएटेड प्रेसलाई बताएअनुसार साउदी अरबको मिसाइल प्रतिरोधी प्रणालीका इन्टरसेप्टरहरू घट्दै गएका छन्। त्यसपछि साउदीले फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टसँग हवाई प्रतिरक्षा सहयोग मागेको उनीहरूले बताएका छन्।
यसैबीच यमनभित्र हुथी विद्रोही र साउदी समर्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबीचको लडाइँ पनि तीव्र भएको छ। हुथी विद्रोहीले एक साताभन्दा केहीअघि यमनको लालसागर तट हुँदै अघि बढेर महत्वपूर्ण बन्दरगाह सहर मोखा तथा लालसागरको दक्षिणी छेउमा रहेको बाब अल-मन्देब जलडमरू क्षेत्रका केही द्वीप कब्जामा लिएका थिए।
यसबाट लालसागर हुँदै आवतजावत गर्ने पानीजहाजमाथि उनीहरूको निगरानी क्षमता बढेको बताइएको छ। यद्यपि‚ हुथीहरूले आफूहरूले साउदी अरबका पानीजहाजलाई मात्र लक्षित गर्ने बताएका छन्।
यमनमा पछिल्लो लडाइँले चार वर्षको तुलनात्मक शान्तिपछि विनाशकारी गृहयुद्ध पुनः चर्किएको संकेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।