काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५ असोजदेखि समानान्तर महाधिवेशनको तयारीमा जुटिरहेका बेला उनको गृहजिल्ला डडेलधुरामा भने आइतबार सबै वडामा अधिवेशन हुने भएको छ।
जिल्ला सभापति भीमबहादुर साउँदले सातवटै पालिकाका ५२ वडामा अधिवेशनको तयारी पूरा भएको जानकारी दिए। अन्य जिल्लाका शनिबार भएपनि डडेलधुराका कुनै पनि वडामा हुन सकेकाे थिएन।
उनका अनुसार जिल्ला कार्यसमितिले केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार वडा अधिवेशन गर्न मातहतका समितिलाई निर्देशन दिएको छ। डडेलधुरामा सात पालिका र ५२ वडा छन्।
हालसम्म ३९ जिल्लाका ३३० वडामा अधिवेशनपछिको निर्वाचन सम्पन्न भएको छ। वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यक्रमअनुसार बाँकी जिल्लाका वडा अधिवेशन पनि निरन्तर सञ्चालन हुने जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कुँवरद्वारा असोज ३ गते जारी गरिएको प्रेस विज्ञप्तिमा निर्वाचन प्रक्रिया निर्धारित कार्यक्रमअनुसार अघि बढिरहेको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।