काठमाडौं– नेपाली कांग्रेसले असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनबारे फैलिन सक्ने अफवाह र भ्रामक सूचनामा नलाग्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन निर्धारित मितिमै हुने जनाएको हो।
कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसअन्तर्गत असोज ३ र ४ गते ७७ वटै जिल्लामा वडा तहको निर्वाचन कार्यक्रम सञ्चालन हुँदैछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार वडा निर्वाचनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिइसकेका छन्। जिल्ला निर्वाचन अधिकृतहरूले जिल्ला तह तथा स्थानीय स्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यहरूसँग निर्वाचनबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका तयारी पूरा गरिसकेका छन्।
समितिले सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन पुनः आग्रह गरेको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा असोज २ गते जारी विज्ञप्तिमा वडा तहको निर्वाचन कार्यक्रमबारे जानकारी दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।