काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
उनले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको विपत्तिप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै पार्टीको राष्ट्रिय दायित्वमाथि समेत प्रश्न उठाएका छन्। कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै आफूलाई कांग्रेस भन्ने र कांग्रेस हुनुमा गौरव गर्नेहरू मानसिक रूपमा कमजोर र निरीह हुन नहुने उल्लेख गरेका छन् ।
उनले कांग्रेसले विरासतमा पाएको राजनीतिक पहिचान अहिले कमजोर बनेको भन्दै पार्टी विभाजित र गन्तव्यविहीनजस्तो भएको टिप्पणी गरेका छन्।
‘हामीले विरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन, अजेय पनि थियो। दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौँ, न विजय नै छौँ। हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीजस्तै भएका छौँ,’ उनले भनेका छन्।
विपत्तिका कारण अभाव र वञ्चनामा परेका तथा ज्यान गुमाएका नागरिकप्रति कांग्रेस संवेदनशील हुनुपर्ने उनको भनाइ छ । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो क्षति भएपछि कांग्रेसले राजनीतिक विवादभन्दा माथि उठेर पीडितको पक्षमा उभिनुपर्ने धारणा उनले राखेका छन् ।
‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन्। उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ?’ कोइरालाले प्रश्न गरेका छन्।
उनले पार्टीभित्रको विवाद समाधान गर्न कानुनी तथा विधानका प्रावधानलाई मात्र आधार बनाएर मानवीय संवेदनालाई बेवास्ता गर्न नहुने बताएका छन्।
सहमति, सहकार्य र एकताका माध्यमबाट पीडित नागरिकको घाउमा मल्हम लगाउने काममा कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
कोइरालाले कांग्रेस आफ्नो राष्ट्रिय दायित्वबाट विमुख हुँदै गए भावी पुस्तालाई पार्टीसँग जोड्न कठिन हुनेसमेत बताएका छन्।
आफू कांग्रेसभित्रको विभाजनबाट खुसी हुन नसक्ने उल्लेख गर्दै उनले कसको पक्ष सही र कसको गलत भनेर वकालत गर्नेभन्दा पार्टीलाई एकताबद्ध बनाउने प्रयास आवश्यक रहेको बताएका छन्।
‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिनँ। म को ठीक, को बेठीक भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइ माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ,’ उनले भनेका छन् ।
उनले कांग्रेसमा कोही हार्ने र कोही जित्ने तथा त्यसलाई नै विजयी कांग्रेसका रूपमा उत्सव मनाउने संस्कार आफूले स्वीकार गर्न नसक्ने बताएका छन्। कांग्रेसको संस्कार र संस्कृति सहमति, एकता र लोकतान्त्रिक अभ्यासमा आधारित हुनुपर्ने उनको धारणा छ।
विश्व राजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै कोइरालाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई स्मरण गरेका छन्। उनले देशको अस्मिता र लोकतन्त्रका लागि संघर्ष गरेका बीपीको आदर्शलाई सम्झेर अहिलेको अवस्थामा कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।
उनले भनेका छन्,‘मलाई थाहा छ मध्यममार्ग कठिन मार्ग हो। मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो। यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो।’
डा.कोइरालाले आफू कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने कांग्रेस कार्यकर्ता भएको उल्लेख गर्दै पार्टी एकताका लागि आफू निरन्तर लागिरहने बताएका छन्।
उनले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्न नचाहेको स्पष्ट पार्दै कांग्रेसको वर्तमान समस्या सबैको एकताबद्ध प्रयासबाट समाधान गर्न सकिने बताएका छन्।
डा.कोइरालाले गाउँ, टोलदेखि केन्द्र हुँदै विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई पार्टीलाई एकताबद्ध राख्ने अभियानमा दृढताका साथ जुट्न आग्रह गरेका छन्। उनले कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई अलग–अलग रूपमा बुझ्न नसकिने बताएका छन्।
‘कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरक रूपमा बुझ्न सक्दिनँ। म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईँहरूसँग भेट्न गाउँघर आइरहने छु,’ उनले भनेका छन्।
कांग्रेसभित्र पार्टी एकता र महाधिवेशनको प्रक्रियालाई लिएर विवाद चलिरहेका बेला कोइरालाले एकीकृत महाधिवेशन नभएसम्म कुनै पनि पक्षको महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।