काठमाडौं– जग्गा दर्तासम्बन्धी काम अघि बढाइदिने भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
आयोगका अनुसार काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीलाई घुस रकमसहित टोखा नगरपालिका–५ स्थित वसुन्धारा चोकको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो।
छुट जग्गा दर्ताका लागि आवश्यक सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने विषयमा वलीले सेवाग्राहीसँग रकम माग गरेको सूचना आयोगमा पुगेको थियो।
उजुरीपछि आयोगले निगरानी बढाएको थियो। सोही क्रममा खटिएको टोलीले वलीलाई २०८३ भदौ ३१ गते रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
नियन्त्रणमा लिने क्रममा उनीसँग रहेको भनिएको ९ लाख रुपैयाँसमेत बरामद गरिएको आयोगको दाबी छ।
आयोगका अनुसार सम्बन्धित कामका लागि सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिई घुस मागेको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको हो।
वलीविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
उनका अनुसार बिहीबार विशेष अदालतबाट म्याद थपको आदेश प्राप्त भएपछि अनुसन्धानलाई निरन्तरता दिइएको छ।
आयोगले वलीले मागेको भनिएको रकम, त्यसको उद्देश्य तथा जग्गा दर्तासम्बन्धी काममा उनको भूमिकालगायत विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।