काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
बिहीबार परराष्ट्र मन्त्रालयमा उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा डा.बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसा समेत गरिन् । भेटका क्रममा डा.बाल्खीले डब्लूएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारी, दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी गराउँदै आफ्नो उम्मेदवारीका लागि नेपालको समर्थनको अपेक्षा व्यक्त गरिन् ।
परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा साउदी अरेबियाबाट नेपालप्रति व्यक्त गरिएको ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । मन्त्री खनालले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्यसम्बन्धी जोखिम तथा रोगको प्रभाव नेपाललगायत जोखिममा रहेका विकासशील मुलुकहरूमा बढ्दै गएको विषयमा समेत जोड दिए ।
उनले जलवायुजन्य स्वास्थ्य चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र प्रभावकारी स्वास्थ्य प्रणालीको आवश्यकता रहेको बताए। उक्त अवसरमा नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए.मनिकरको पनि सहभागिता रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।