काठमाडौं– नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई ससम्मान समावेश गर्ने निर्णय आज कार्यान्वयन हुन लागेको छ।
निर्णयलाई आत्मसाथ गर्दै निवर्तमान कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पार्टी कार्यालयमा आउने भएपछि पार्टीभित्र एकता र उत्साहको नयाँ तरङ्ग छाएको छ।
उक्त ऐतिहासिक निर्णयअनुसार पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, सानेपामा आज दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि निवर्तमान कार्यसमितिका सम्पूर्ण नेताहरूलाई औपचारिक पत्र पठाएर निमन्त्रणा गरिएको छ।
विशेष महाधिवेशनपछिका आन्तरिक असमझदारीहरूलाई संवाद र विधिको माध्यमबाट समाधान गर्दै सबै पक्षलाई मूलधारमा जोड्ने नेतृत्वको लचकतापूर्ण निर्णयपछि आज सानेपामा थप उल्लासमय र हार्दिक वातावरण बन्ने देखिएको छ। निवर्तमान कार्यसमितिका सबै सदस्यहरूको केन्द्रीय सदस्यको हैसियत सुनिश्चित भएसँगै दुवै पक्षका शीर्ष तथा प्रभावशाली नेताहरू एउटै मञ्चमा उपस्थित भई आगामी १५औँ महाधिवेशनलाई भव्य बनाउने रणनीतिमा जुट्ने भएका छन्।
पार्टीभित्र लामो समयदेखि देखिएको अन्योल चिर्दै बृहत्तर राजनीतिक एकताको यो विशेष सन्देश प्रवाह हुने ऐतिहासिक बैठक प्रति देशभरिबाट चासो देखिएको छ।
आसन्न असोज १६ देखि १९ सम्म काठमाडौँको खुलामञ्चमा आयोजना हुन लागेको १५औँ महाधिवेशन र असोज ३ गतेदेखि प्रारम्भ हुने वडा तहको चुनावी प्रक्रियाको पूर्वसन्ध्यामा हुन लागेको यो बैठकलाई काङ्ग्रेस पुनर्जागरणको महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।