काठमाडौं– सडक डिभिजन काठमाडौँले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बीच डिभिजनले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुलाई एपबारे ब्रिफिङ गराएको हो ।
एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न व्यवस्था रहेको डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए। उनले उक्त एपको बिहीवार औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताए।
उनकाअनुसार समस्या रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ । प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने उनले बताए । देवकोटाले समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्ने बताए ।
उनले काठमाडौं उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय यसअघि नै ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको गरिसकेको समेत जानकारी दिए । उनले सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तीव्रता दिएको दिएको बताए ।
उनले भने, ‘हामीले नयाँ एप्स ‘सडक सुझाव’ भनेर लन्च गरेका छौँ । यसमा भन्दाखेरि ड्यामेज रोड, वाटर लन्चको एरिया छ भने पनि अहिले गर्न सकिन्छ । ट्राफिक सेफ्टी अरु कुराहरू पनि यसमा रिपोर्ट गर्न सकिन्छ । यो एप प्ले स्टोरमा उपलब्ध छ । यसमा सडकमा खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने वा सडक निर्माण सम्बन्धी कुनै समस्या देख्नुभएको छ ? वा समस्या देखेर गुनासो मात्र होइन । अब समाधान पनि त्यहीँ एपमार्फत जुट्न सकिन्छ । सबैभन्दा पहिले प्ले स्टोर वा एप स्टोरमा गई सडक सुझाव एप डाउनलोड गर्ने, एप खोल्नुहोस् र होम स्क्रिनमा रहेको ‘रिपोर्ट अ प्रब्लम’मा क्लिक गरी समस्याको फोटो अपलोड गर्न सकिन्छ । फोटो खिचेको स्थान एपले स्वतः पहिचान गर्दछ । आवश्यक परे ठेगाना खोजी गरी स्थानसमेत निर्धारण गर्न सक्छ । त्यसपछि समस्याको प्रकार छनोट गरी समस्याको गम्भीरताको स्तर छनोट गर्ने काम गर्नुपर्यो । सबै विवरण जाँच गरी समिट गर्न सकिन्छ । यति गरेपछि तपाईँको रिपोर्ट सफलतापूर्वक दर्ता हुन्छ र एउटा रिफरेन्स नम्बर प्राप्त हुन्छ । दर्ता गरिएको रिपोर्टको अवस्था पनि एपमार्फत हेर्न सकिन्छ । प्राप्त रिपोर्टहरूलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी गरी आवश्यकताअनुसार समाधान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ । सडक डिभिजन काठमाडौँ जनताको सेवा र कल्याणका लागि २४ सै घण्टा प्रतिबद्ध छ ।’
उनले बिस्तारै यो प्रणालीसँग भक्तपुर र ललितपुरलाई समेत जोडिने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।