काठमाडौं– बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा २०८२ भदौ १६ गतेदेखि सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रहरीले जनाएको छ। बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म १० टन तौलसम्मका मालबाहक तथा ढुवानीका साधन सञ्चालन हुनेछन्। निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन्।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनको रातिको आवागमन रोकिएको छ। २०८३ भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।
रसुवामा पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ। २०८३ साउन ८ गते उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने कच्ची सडकखण्ड अवरुद्ध भएको थियो। त्यसपछि २०८३ भदौ १० गते आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको प्रहरीले जनाएको छ।
त्यस्तै, २०८३ भदौ १० गते आएको बाढीका कारण त्रिशूली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्याफ्रुबेँसीसम्म जान काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म पुग्ने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएपछि अवरुद्ध भएको थियो। उक्त सडकखण्ड २०८३ असोज १ गते बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा तुइनखोला परियोजनाको माटो कटान कार्यका कारण निश्चित समयमा सवारी सञ्चालनमा आंशिक रोकावट लगाइएको छ। कृष्णभीर सडकखण्डको मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सुचारु नभएसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म सडक बन्द रहनेछ। त्यसपछि बिहान ८ बजेदेखि ८:३० बजेसम्म सवारी सञ्चालन हुनेछ। त्यसैगरी दुई घण्टा बन्द र ३० मिनेट खुला हुने तालिका अनुसार सवारी सञ्चालन गरिने जनाइएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका–४ मिलनचोकस्थित कर्णाली करिडोरमा २०८३ भदौ ३१ गते बिहान ७ बजे माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मनाङको नासो गाउँपालिका–३ खोत्रोस्थित चामे–बेँसीसहर सडकखण्ड पनि अवरुद्ध भएको छ। २०८३ भदौ ३१ गते बिहान ६:५० बजे रातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट ढुंगासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।