काठमाडौं– नेकपा एमालेको कार्यदलको प्रतिवेदन टुंगो लगाउन गठित सम्पादन समितिका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न गुन्डु पुगेका छन्।
स्रोतका अनुसार दुई छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल गरी अन्तिम मस्यौदा तयार गर्ने विषयमा ओलीसँग परामर्श लिन सम्पादन समितिका नेताहरू गुन्डु पुगेका हुन्।
एमाले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनप्रति कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन तयार पारेका छन्।
दुवै प्रतिवेदन अलग–अलग आएपछि त्यसलाई समेटेर साझा मस्यौदा तयार गर्न उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव पोखरेल रहेको सम्पादन समिति गठन गरिएको थियो।
समितिलाई दुवै प्रतिवेदनका विषयवस्तुका साथै एमाले नेताहरूबाट प्राप्त सुझाव र अभिमत समेटेर अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ।
मस्यौदा तयार गर्ने क्रममा नेताहरूले अध्यक्ष ओलीसँग समेत परामर्श गर्न लागेका हुन्। आजसम्म परामर्शका लागि समय पाएका नेताहरू मस्यौदामा समेटिनुपर्ने विषयबारे छलफल गर्न गुन्डु पुगेको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।