काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन शाहले प्रभावित क्षेत्रको अवस्थाबारे संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन्।
बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाहले सर्वदलीय बैठकलाई बेवास्ता नगरेको जिकिर गरे।
एक सञ्चारकर्मीले ‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो?’ भन्दै प्रश्न गरेका थिए।
जवाफमा लामिछानेले प्रधानमन्त्री निरन्तर प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा स्थानीयसँग सम्पर्कमा रहेको बताए।
‘विल्कुल होइन । स्थानीय तहका राजनीतिज्ञसमेत कुरा गरिरहनुभएको छ। प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिनुभएको छ, यो उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो,’ उनले भने।
लामिछानेले सरकार र पार्टीको जिम्मेवारी छुट्टाछुट्टै रहेकाले दुवै पक्षले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए।
‘अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट कुरा छ। त्यसको डुप्लिकेसन आवश्यक छैन,’ उनले भने।
प्रधानमन्त्रीले प्रभावित क्षेत्रका वडाध्यक्ष तथा स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गरिरहेको पनि लामिछानेले बताए।
‘स्थानीय तहको वडाध्यक्षसँग फोनमा कुरा हुने, त्यहाँका पालिकाका जनप्रतिनिधिसँग घन्टौं कुरा गर्ने काम गरिरहनुभएको छ,’ उनले भने।
प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउने क्रम निरन्तर रहने भन्दै लामिछानेले त्यसलाई आफूहरूले स्वाभाविक रूपमा लिनुपर्ने बताए। ‘यो प्रश्न कार्यकालभरि नै तपाईंहरू गरिरहनुहुन्छ, यसलाई डम्प हानिदिए हुन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।