काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना बढाउने, प्रारम्भिक पहिचानको महत्त्व बुझाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले काठमाडौं र ललितपुरमा ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आगामी असोज १७ गते शनिबार बिहान ६ बजे पदयात्रा आयोजना गर्न लागेको हो। पदयात्रा बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न हुनेछ।
आयोजकका अनुसार कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, क्यान्सर प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहनेछ।
स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायस्तरमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ। उपचार तथा पुनःस्थापनाको चरणमा रहेका व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देशसमेत अभियानमार्फत प्रवाह गरिनेछ।
इन्फिनिट केयर्सका इकाई प्रमुख दिजुप तुलाधरले पिंकवाकलाई पदयात्रामा मात्र सीमित नराखी सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अगाडि बढाउन खोजिएको बताए।
“स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्त्व बुझाउनु र क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउनु हाम्रो मुख्य उद्देश्य हो,” तुलाधरले भने।
पिंकवाक २०२६ मा क्यान्सर केयर नेपाल, नेशनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस् र वर्ल्ड अफ वुमनको साझेदारी रहने आयोजकले जनाएको छ। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको समेत सहयोग रहनेछ।
पिंकवाकको पहिलो संस्करण २०८० असोजमा आयोजना गरिएको थियो। आयोजकका अनुसार त्यसबेला ६०० भन्दा बढी सहभागीले स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक सामग्रीसहित नारायणचौर, नक्सालदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए।
यसपटकको दोस्रो संस्करणले पनि स्तन क्यान्सरसम्बन्धी सचेतना, प्रारम्भिक पहिचान, सामुदायिक सहभागिता तथा क्यान्सर प्रभावित व्यक्तिलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने आयोजकले जनाएको छ।
इन्फिनिट केयर्स इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालिको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सामुदायिक पहल हो। कम्पनीका अनुसार नेपालस्थित सफ्टवेयर विकास तथा सूचना प्रविधि सेवा केन्द्रमा ६०० भन्दा बढी जनशक्ति कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।