काठमाडौं– सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। आज भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ।
आगलागीको खबर पाउनासाथ प्रहरी तथा दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार आगलागी बिजुली सर्ट (सर्ट सर्किट) का कारण भएको सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन काेइरालाले बताए।
सर्वोच्च अदालतको नयाँ भवनमा छोटो समयमै आगलागी भएको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति पनि सोही भवनको अभिलेख शाखामा आगलागी भएको थियो।
उक्त समयमा ‘प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजातहरू जलेको’ अदालत प्रशासनले जनाएको थियो। तर, भदौ १७ को घटनाको छानबिन प्रक्रिया जारी रहँदै गर्दा पुनः दोहोरिएको आगलागीले सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेकाे छ।
अघिल्लो वर्ष भदौ २४ गते देशव्यापी रूपमा भएको ‘जेन जी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यसयता अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक कामकारबाहीहरू ‘एनेक्स’ (संलग्न) भवनबाट सञ्चालन गर्दै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।