काठमाडौं– भारतका विभिन्न राज्यमा मनसुन सक्रिय रहँदा भारी वर्षा, बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ।
बिहारका १५ जिल्लाका ५७५ पञ्चायतमा करिब ५० लाख मानिस अझै डुबानमा छन्। उत्तर प्रदेश (यूपी) का २६ जिल्लामा बाढीको अवस्था रहेको बताइएको छ भने करिब चार लाख मानिस प्रभावित भएका छन्।
बिहारको कटिहारमा सरकारी विद्यालय र कोचिङ सेन्टरसमेत डुबेका छन्। यस्तो अवस्थामा गाउँका शिक्षकले डुंगामै बालबालिकालाई पढाइरहेका छन्। राज्यका २६ जिल्लामा वर्षाको ‘यलो अलर्ट’ जारी गरिएको छ। साथै चट्याङ पर्ने चेतावनी पनि दिइएको छ।
यूपीमा लगातारको वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ। लखीमपुरमा शारदा नदीको कटान तीव्र हुँदा २४ घण्टामै सातवटा घर डुबेका छन्। सिद्धार्थनगरमा वर्षाका क्रममा एउटा पर्खाल भत्किएको छ।
सहारनपुरस्थित प्रसिद्ध सिद्धपीठ मां शाकम्भरी देवी मन्दिर नजिकको नदीमा पनि बाढी आएको छ। प्रहरीले श्रद्धालुलाई सतर्क रहन आग्रह गरेको छ।
उत्तराखण्डको पिथौरागढस्थित आदि कैलाश जाने मार्गमा दोबाटमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको छ। रुद्रप्रयागमा केदारनाथ पैदल मार्गअन्तर्गत चीरबासानजिक सुरक्षाका लागि यात्रुलाई हेल्मेट लगाएर अघि पठाउन थालिएको छ।
चार दिनअघि उक्त क्षेत्रमा गएको पहिरोमा धेरै घोडा–खच्चर मरेका थिए। बाटोमा रहेका मृत घोडा–खच्चरका शवबाट दुर्गन्ध फैलिएको र सास फेर्न समस्या भएको गुनासो यात्रुबाट आएको बताइएको छ।
राजस्थानका २६ जिल्लामा सेप्टेम्बर १७ सम्म वर्षाको ‘यलो अलर्ट’ जारी गरिएको छ। मंगलबार अजमेर, पालीलगायत केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको थियो।
मध्य प्रदेशका पश्चिमी क्षेत्रमा सेप्टेम्बर १७ देखि १९ सम्म तथा पूर्वी क्षेत्रमा सेप्टेम्बर १८ देखि २१ सम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ।
यसैबीच, गुजरातको उना जिल्लामा चार घण्टामै आठ इन्चभन्दा बढी वर्षा हुँदा २०० भन्दा बढी घरमा पानी पसेको छ। बिहारको भोजपुरस्थित ज्वइनिया गाउँमा अभिनेत्री अक्षरा सिंहले बाढीपीडितलाई राहत सामग्री वितरण गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।