फाइल तस्बिर
काठमाडौं– बाढी, पहिरो र सडक कटानका कारण रसुवा, धादिङ, सिन्धुपाल्चोक, सुर्खेत र हुम्लाका प्रमुख सडक अवरुद्ध भएका छन्। काभ्रेको वि.पि. राजमार्ग र चितवनको नारायणगढ–मुग्लिन सडकमा भने समय तोकेर सवारी सञ्चालन भइरहेको छ। नुवाकोटको टोखा–छहरे सडकमा अत्यावश्यक सेवाबाहेकका सवारी राति बन्द रहनेछन्।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। २०८३ साउन ८ गते त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि अवरुद्ध भएको सडक साउन १० गते आएको बाढीले थप क्षतिग्रस्त बनाएको हो।
त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्ग पनि २०८३ भदौ १० गते आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किलोमिटर–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै जाने एक लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। २०८३ भदौ १४ गते बिहान करिब ८ बजे त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको हो।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा सडक भासिएपछि अरनिको राजमार्ग पनि २०८३ भदौ २९ गते बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पहिरो खसेपछि २०८३ भदौ २९ गते बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका–६ खरीखेतस्थित कर्णाली करिडोर पनि २०८३ भदौ २९ गते बेलुका ७ बजेबाट पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने वि.पि. राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा समय तोकेर सवारी सञ्चालन भइरहेको छ। २०८२ भदौ १६ गतेदेखि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक तथा ढुवानीका साधन सञ्चालन गर्न दिइएको छ। निजी तथा सार्वजनिक यात्रुवाहक सवारी भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन्।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छैन। यो व्यवस्था २०८३ भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा मर्मत कार्यका कारण आंशिक रूपमा सवारी सञ्चालनमा रोक लगाइएको छ। २०८३ भदौ २२ गते बिहान ६ बजेदेखि लागू भएको व्यवस्थाअनुसार बिहान ६ देखि ८ बजेसम्म सडक बन्द र ८ देखि ८:३० बजेसम्म खुला रहनेछ। त्यसपछि दुई घण्टा बन्द र ३० मिनेट खुला गर्ने क्रम दोहोरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।