काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेकाले बुधबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली, पहाडी र तराईका साथै बागमती र गण्डकीका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्यतया बादल लागेको छ भने अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकीका थोरै तथा मधेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी र बागमतीका हिमाली भू-भागका केही तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी र तराई भू-भागका विभिन्न स्थानमा समेत मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा विभिन्न प्रदेशका पहाडी र तराई भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।