काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई लक्षित गर्दै प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विवादित अंश संसद्को अभिलेखबाट हटाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले मंगलबारको प्रतिनिधिसभा बैठकमा सचिवालयलाई उक्त अभिव्यक्तिको अंश अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
सांसद सुनारले भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा आईजीपी कार्कीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लगाउँदै बर्खास्त गर्नुपर्ने मागसहित सरकारको ध्यानाकर्षण गराएका थिए।
उनले बैठकमा प्रयोग गरेको केही शब्दावलीलाई लिएर सभामुखले अभिलेखबाट हटाउने निर्णय गरेका हुन्।
मंगलबारको बैठकमा सभामुख अर्यालले भने, ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’
सभामुखको निर्देशनसँगै सुनारले आईजीपी कार्कीलाई लक्षित गर्दै प्रयोग गरेको उक्त अंश अब प्रतिनिधिसभाको आधिकारिक अभिलेखमा रहने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।