काठमाडौं– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार विज्ञप्ति जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशन, असोज ७ गतेको पालिका अधिवेशन तथा असोज १० गते हुने प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका लागि निर्वाचन अधिकृतहरू जिल्लामा पुगेर निर्वाचन प्रक्रियामा सक्रिय रहेको जनाएको हो।
समितिका अनुसार जिल्ला निर्वाचन अधिकृतहरूले सम्बन्धित जिल्ला कार्यसमितिसँग समन्वय गरी निर्वाचन प्रक्रिया अघि बढाइरहेका छन्।
असोज १० गते हुने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन हुने कांग्रेसले जनाएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यक्रमअनुसार सक्रिय रूपमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई पुनः आग्रह गरेको छ। समिति संयोजक प्रेमबहादुर खड्काले विज्ञप्तिमार्फत अधिवेशन प्रक्रियामा उत्साहजनक सहभागिताका लागि अपिल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।