काठमाडौं– बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव हटाउन सरकारले भारतबाट हुने आयात बढाउने तयारी गरेको छ। उद्योगमन्त्री दीपक साहका अनुसार अब भारतबाट दैनिक १६० बुलेट ग्यास नेपाल ल्याइनेछ।
हाल भारतबाट दैनिक करिब ९० देखि ९५ बुलेट मात्रै ग्यास नेपाल भित्रिरहेको छ। यसअघि दैनिक करिब १०० बुलेट आयात हुने बताइए पनि मागअनुसार आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको हो।
त्यसमाथि कृष्णभीरमा गएको पहिरोका कारण पृथ्वीराजमार्गको आवागमन प्रभावित भएपछि ग्यास ढुवानीमा थप समस्या भएको थियो।
अभाव तत्काल कम गर्न मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।
ग्यासको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिन मन्त्री साह मंगलबार नेपाल आयल निगम पुगेका थिए। मन्त्रीको निर्देशनपछि निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई थप ग्यास उपलब्ध गराउन पत्राचार गरेको थियो।
मन्त्री साहका अनुसार नेपालको मागअनुसार दैनिक थप ६० बुलेट ग्यास उपलब्ध गराउन आईओसी तयार भएको छ।
आयात बढेसँगै बजारमा ग्यासको आपूर्ति सहज हुने र एक साताभित्र अभाव हट्ने मन्त्री साहले दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।