काठमाडौं– बाढीबाट प्रभावित बस्तीलाई जोखिमयुक्त नदी किनारबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न नुवाकोटको विदुर नगरपालिकाले संघीय सरकारसमक्ष पुनर्वासको विस्तृत योजना प्रस्ताव गरेको छ।
प्रधानमन्त्री बालेन शाहसँग सोमबार भएको छलफलमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका हुन्।
नगरपालिकाले तत्कालका लागि बाढी प्रभावित नागरिकलाई अस्थायी आवासमा राख्न विभिन्न वडामा ८ स्थान प्रस्ताव गरेको छ। वेत्रावतीका लागि सुहाँरा डाँडा, तुप्चे–सोले–अक्करे–छिपीटारका लागि भित्रिनीटार तथा नेपाल विद्युत् प्राधिकरणको जग्गा, भैसेका लागि कान्नले सेरोफेरो र एक नम्बर पुल क्षेत्रका लागि गर्खुटार प्रस्ताव गरिएको छ।
त्यस्तै सिलटट्याङ्की–बिजुरा क्षेत्रका लागि राहुलटार, त्रिशूली–ढुंगेका लागि कोलनीस्थित विद्युत् प्राधिकरणको जग्गा, सिमचौरका लागि धापखेत तथा देविघाटका लागि चन्द्रज्योती मावि र आयुर्वेद भवनलाई अस्थायी आवासका रूपमा प्रयोग गर्ने प्रस्ताव गरिएको छ।
दीर्घकालीन रूपमा भने नगरपालिकाले ‘एक वडा, एक पुनर्वास स्मार्ट सिटी’ को अवधारणा अघि सारेको छ। नदीको जोखिम क्षेत्रमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जग्गा सट्टापट्टासहित कानुनी व्यवस्था गर्न पनि संघीय सरकारसँग माग गरिएको छ।
नगरपालिकाका अनुसार बाढीबाट विदुरमा करिब ३ हजार २ सय नागरिक प्रभावित, १ हजार ७ सय ५० घरमा क्षति र १ हजार १६० हेक्टर जमिन प्रभावित भएको छ। उद्योगतर्फ मात्रै करिब ३ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।