काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको दाबी गरेका छन्। तर‚ उक्त दाबीको रुस वा युक्रेनले औपचारिक पुष्टि गरेका छैनन्।
ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनले रुसी ऊर्जा संरचनालाई निशाना नबनाउने र रुसले पनि त्यसै गर्ने सहमति भएको उल्लेख गरेका छन्। उनले रुस–युक्रेन युद्धका कारण विश्व बजारमा डिजेलको मूल्य बढेको दाबी गर्दै आएका छन्।
युक्रेनले पछिल्ला महिनामा रुसी तेल प्रशोधन तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र पारेको छ। त्यसले रुसी इन्धन आपूर्तिमा समेत असर पारेको बताइएको छ। ट्रम्पले डिजेलको मूल्य बढ्नुमा रुस–युक्रेन युद्धलाई प्रमुख कारणका रूपमा प्रस्तुत गर्दै युक्रेनलाई रुसी डिजेल पूर्वाधारमा आक्रमण रोक्न आग्रह गरेका थिए।
तर‚ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको दाबीअनुसार औपचारिक सहमति भइसकेको पुष्टि गरेका छैनन्। अमेरिकालगायत साझेदारले रुसले युक्रेनका विद्युत् प्रणाली, ऊर्जा तथा अन्य महत्वपूर्ण पूर्वाधारमा आक्रमण नगर्ने सुनिश्चित गरेमा युक्रेन पनि रुसमाथिका त्यस्ता आक्रमण रोक्न तयार रहेको छ।
जेलेन्स्कीले महत्त्वपूर्ण पूर्वाधारमाथि पारस्परिक आक्रमण रोक्ने कदम शान्तितर्फको पहिलो कदम बन्न सक्ने बताएका छन्। उनले यसअघि पनि ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयलाई युद्धविरामतर्फको सम्भावित सुरुआती कदमका रूपमा प्रस्ताव गर्दै आएका थिए।
यसबीच, सोमबार रुसी सेनाले कृष्ण सागरमा दुईवटा मालवाहक जहाजमा आक्रमण गरेको रुसी समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ। युक्रेनसँग सीमा जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा अमेरिकी पहल अघि बढे पनि रुस र युक्रेनबीच औपचारिक तथा कार्यान्वयनयोग्य सहमति बनेको स्पष्ट प्रमाण सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।