काठमाडौं– सरकारले सेयर बजारलाई चलायमान बनाउने उद्देश्यसहित पुँजीगत लाभकर घटाउँदै बैंक तथा वित्तीय संस्थाले सेयर होल्ड गर्नुपर्ने अवधि पनि छोट्याएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ अनुसार सूचीकृत सेयरमा व्यक्तिले ३६५ दिनभन्दा बढी होल्ड गरे ३.७५ प्रतिशत र एक वर्ष वा सोभन्दा कम अवधि होल्ड गरे ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। हाल छोटो अवधिको सेयर कारोबारमा १० प्रतिशत र लामो अवधिमा ७.५ प्रतिशत कर लाग्दै आएको थियो।
कार्ययोजनाले सेयर कारोबारमा भएको नोक्सानीलाई सोही वर्षको नाफासँग समायोजन गर्न सकिने व्यवस्था गर्ने पनि जनाएको छ। नाफा–घाटा राफसाफ प्रणालीबाट समायोजन गरी खुद लाभमा मात्रै अन्तिम पुँजीगत लाभकर लगाउने व्यवस्था गरिनेछ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा लगानी गर्दा सेयर होल्ड गर्नुपर्ने अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले सट्टेबाजीजन्य जोखिम न्यूनीकरण हुने गरी लगानी नीति बनाउन आवश्यक व्यवस्था गर्नेछ।
सरकारले आईपीओ प्रणाली सुधार, संस्थागत लगानीकर्ता बढाउने, नेप्सेको पुनर्संरचना, नयाँ सूचकांक विकास तथा मार्जिन लेन्डिङ, इन्ट्राडे कारोबार र सर्ट सेलिङजस्ता उपकरण सञ्चालनका लागि आवश्यक कानुनी तथा पूर्वाधार सुधार अघि बढाउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।