काठमाडौं– ई–स्पोर्ट्स संघ नेपाल (ईशान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि समेटिएको वार्षिक इभेन्ट क्यालेन्डर सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक गरिएको क्यालेन्डरमा ईशानले करिब तीन महिना सञ्चालन हुने लिग ढाँचाको नेपाल ई–स्पोर्ट्स लिग घोषणा गरेको छ।
पुसमा इन्टर कलेज च्याम्पियनसिप तथा माघदेखि चैतसम्म नेपाल ई–स्पोर्ट्स लिग सञ्चालन हुनेछ। संघले वर्षभरि ई–स्पोर्ट्स गतिविधिलाई निरन्तरता दिने उद्देश्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता क्यालेन्डरमा समावेश गरेको जनाएको छ।
यस्तै, पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसियन च्याम्पियनसिप भदौ ३१ देखि असोज ३ गतेसम्म सञ्चालन हुने तालिका छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई पनि ईशानले आफ्नो क्यालेन्डरमा समावेश गरेको छ। राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक ई–स्पोर्ट्सलाई आधिकारिक खेलका रूपमा समावेश गरिएको हो।
ईशानका सचिव आशिष दाहालले वर्षभरि ई–स्पोर्ट्स गतिविधि सञ्चालन गर्ने उद्देश्यले वार्षिक क्यालेन्डर तयार पारिएको बताए।
‘नेपालको ई–स्पोर्ट्सलाई व्यावसायिक र व्यवस्थित बनाउने उद्देश्यसहित लिग संरचनाको प्रतियोगिता घोषणा गरेका छौं। यसले नेपालको ई–स्पोर्ट्समा नयाँ आयाम थप्ने विश्वास संघले लिएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।