काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोलेर सवारी सञ्चालनमा ल्याइएको छ। सडक भासिएपछि अवरुद्ध बनेको राजमार्ग मर्मत थालेको दशौँ दिनमा ठूला मालबाहक सवारी कृष्णभीर पार गर्न थालेका हुन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदीमा मिसिएपछि तल्लो क्षेत्रमा तीव्र कटान हुँदा कृष्णभीरमा सडक भासिएको थियो। सडक भासिएपछि सडक विभागले मूल सडकभन्दा केही माथिबाट नयाँ ट्र्याक खोलेर वैकल्पिक बाटो तयार पारेको हो।
आइतबार बिहान नयाँ ट्र्याकमा ग्राभेल हालेर सडकलाई सवारी सञ्चालनयोग्य बनाइएको थियो। त्यसपछि कृष्णभीरको दायाँ–बायाँ रोकिएका ठूला मालबाहक सवारी, ट्रक तथा ग्यास बुलेटलाई एकतर्फी रूपमा पार गराइएको हो।
स्थानीय प्रशासन र सडक विभागका अधिकारीहरूले नयाँ ट्र्याकको निरीक्षण गरेपछि सवारी सञ्चालनको अनुमति दिएका थिए।
सडक विभागका अनुसार हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। नयाँ ट्र्याकलाई थप व्यवस्थित गरेर सोमबारदेखि कृष्णभीरमा दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ।
कृष्णभीरमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा मालबाहक सवारी प्रभावित भएका थिए। विशेषगरी ग्यासलगायत अत्यावश्यक वस्तु बोकेका सवारी लामो समयदेखि बाटोमै रोकिएका थिए। सडक सञ्चालनमा आएसँगै ती सवारी गन्तव्यतर्फ जान थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।