काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि आइतबार बिहान ५ बजेसम्म १ हजार ३८५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै ४ हजार ८९ जना बेपत्ता छन्।
फेला परेका शवमध्ये रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३० र नवलपरासी पश्चिममा २२२ जना रहेका छन्।
फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डीएनए नमुना संकलन गरिएको छ।
पहिचान हुन नसकेका १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। यसैगरी, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७१२ जना राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।