काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ।
यी दुई टोलीबीचको उपाधि भिडन्त आज दिउँसो ४:०० बजेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ।
अन्नपूर्णले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। उसले लिग चरणमा पाँच खेलमध्ये चारमा जित र एकमा हार ब्यहोरेको थियो। अन्नपूर्ण तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनल खेलिरहेको हो।
कर्णालीले प्लेअफमा काठमाडौं रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै उपाधिका लागि अन्नपूर्णसँगको भेट पक्का गरेको हो। कर्णाली लिग चरणमा तालिकाको दोस्रो स्थानमा छ। उसले पाँच खेलमध्ये चारमा खेलमा जित र एक खेलमा पराजय ब्यहोरेको थियो।
लिग चरणमा कर्णालीले अन्नपूर्णविरुद्ध ३-१ सेटको जित निकालेको थियो। कर्णाली आज फाइनलमा पनि सोही जित दोहोर्याएर उपाधि जित्ने योजनामा छ। यता अन्नपूर्ण लिग चरणको हारको बदला लिएर च्याम्पियन बन्ने सोचमा छ।
नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको हो। केडिया ग्रुप आयोजक रहेको प्रतियोगिताको विजेता टोलीले २० लाख पुरस्कार प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।