सल्यान– सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।
शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका–५ सिंखका २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए।
घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो। उनीहरूलाई बिहान १०:२२ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्।
दुर्घटनामा घाइते भएका चालक भुपाल पुन, त्रिवेणी गाउँपालिका–५ का २९ वर्षीय पारस बोहरा, सोही ठाउँका ५० वर्षीय डिल्लीबहादुर वली र त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकीको त्रिवेणी हेल्थ केयर लुहाम, सल्यानमा सामान्य उपचार गरिएको थियो।
चारै जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।