नवलपरासी (बर्दघाट सुस्ता पूर्व)– गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ६:५० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
लु २ ख ६४५७ नम्बरको बसमा सवार कालिकोटको तिलागुफा नगरपालिका–३ का ३६ वर्षीय धनमान हमाल र गैंडाकोट नगरपालिका–५ की ६० वर्षीया लिला थापा पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन्।
लु २ ख ६०३६ नम्बरको बसमा सवार भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय चालक सन्तोषबहादुर गुरुङ, गैंडाकोट नगरपालिका–७ की १२ वर्षीया आत्रिया पौडेल, गैंडाकोट नगरपालिका–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शंकर बयलकोटी, गैंडाकोट नगरपालिका–२ की ३८ वर्षीया सीता ज्ञवाली, उनकी ११ वर्षीया छोरी जस्मिन ज्ञवाली र चितवन रत्ननगर नगरपालिका–२ की १० वर्षीया दिभा रानाभाट नयाँ चितवन मेडिकल कलेजमा उपचाररत छन्।
त्यस्तै, बाराको कलैया उपमहानगरपालिका–९ का ६० वर्षीय मोहन भैया साह, भरतपुर महानगरपालिका–२ की ३१ वर्षीया निशा तिवारी, उनका करिब ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका करिब ५५ वर्षीय निमलाल खड्का, उनकी करिब ५५ वर्षीया श्रीमती अमृता खड्का, रुपन्देही मायादेवी गाउँपालिका–६ का ५७ वर्षीय मनोज गुरुङ, उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैंडाकोट नगरपालिका–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट र गैंडाकोट नगरपालिका–६ की करिब ४३ वर्षीया मिरा आचार्य पुरानो चितवन मेडिकल कलेजमा उपचाररत छन्।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।