काठमाडौं– काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौँमा रहेका १३२ जना बालबालिकालाई विद्यालय पठाउन थालेको छ।
नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययन गराउन थालेको हो। विद्यार्थीहरुलाई पुस्तक र दिवा खाजा उपलब्ध गराइएको छ।
पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित थिए। उनीहरूको मनमा पुगेको गहिरो चोट कम गराउन आवश्यकता र उपलब्धता बुझ्न काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल विद्यालयमा पुगेर बालबालिकालाई विद्यालय आउन प्रोत्साहित गरे।
उनले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकसँग कुरा गर्दै भने,‘वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरूसँग आत्मीय व्यवहार गरेर मनको आघातलाई बिर्सन सघाउनु। किताब र पाठभन्दा विद्यार्थीमा भएको त्रास कम गराउन परामर्श गर्नू।’
शिक्षा विभागका वरिष्ठ अधिकृत सुशिल सुवेदीका इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु महानगरपालिकाको सम्पर्कमा छन्। उनीहरूमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना छन्। इसीडी, नर्सरी र कक्षा १० मा अध्ययन गर्ने २–२ जना छन्। नर्सरी, युकेजी र कक्षा १२ मा अध्ययरत १–१ जना छन्।
कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६–६ जना छन्।
कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।