काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको विभागले जनाएको छ।
हाल देशभर सामान्यतया बदली रहेको छ। कर्णाली प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ। कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ।
शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
शुक्रबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ। विभागले वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।