काठमाडौं– रसुवाको भोटेकोशीमा भदौ १० बिहान आएको विनाशकारी बाढीपछि रसुवालगायतका प्रभावित क्षेत्रमा रहेका जलविद्युत आयोजनाका टनेल तथा पावरहाउसमा खोज तथा उद्धार कार्य जारी छ।
नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत आयोजनामा क्विक रियाक्सन टिम र आयोजनाका प्रतिनिधिसहितको टोलीले पावरहाउस, ट्रान्सफर्मर रुम तथा कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरिरहेको छ।
लाङटाङ हाइड्रोमा सेनाको २५ जनाको टोली टनेलभित्र खोजीमा खटिएको छ। चिलिमे हाइड्रोमा स्वदेशी तथा विदेशी सदस्य सम्मिलित संयुक्त टोलीले टनेलभित्र जमेको लेदो हटाइरहेको छ। भारी उपकरण लैजान बाटो बनाउन विस्फोट गराउने काम भइरहेको छ भने टनेलसम्म पुग्न अब ३५ मिटर दूरी बाँकी छ।
त्यस्तै माथिल्लो त्रिशूली–१ अन्तर्गत हाकुबेशीको अडिट–१ टनेलमा सेनाको टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३ ए को पावरहाउस तथा टनेल क्षेत्रमा र त्रिशूली–३ बी मा पनि संयुक्त टोलीले खोजी जारी राखेको सेनाले जनाएको छ।
बाढीका कारण विभिन्न आयोजनाका टनेल, पावरहाउस तथा अन्य संरचनामा ठूलो क्षति पुगेको छ। टनेलभित्र कामदार तथा अन्य व्यक्ति फसेको आशंकामा सुरक्षा निकाय र आयोजनाका प्राविधिक टोलीले खोजीलाई निरन्तरता दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।